जुरीखेतमा सुमो दुर्घटना : ६ जनाको ज्यान गयो, ३ जना घाइते

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

२० पुस,हेटौंडा -मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित जुरीखेतमा आइतबार साँझ सुमो गाडी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्।

काठमाडौँबाट हेटौंडातर्फ जाँदै गरेको ना १ ज १७७८ नम्बरको सुमो गाडी साँझ करिब ५ः२० बजे भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा अनियन्त्रित भई सडकबाट करिब १ सय मिटर तल खोल्सामा खसेको थियो।

दुर्घटनामा घाइते भएका ९ जनामध्ये ६ जनाको उपचारका क्रममा मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) पुस्कर बोगटीले जानकारी दिएका छन्।

दुर्घटनामा मृत्यु भएकाहरूको पहिचान हालसम्म खुलेको छैन। सुमोमा सवार अन्य ३ जनाको अवस्था मध्यम रहेको र हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटनाको कारणबारे अनुसन्धान भइरहेको तथा थप विवरण संकलन गरिरहेको प्रहरीले जनाएको छ।

Leave a Comment