आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले स्कटल्याण्डविरुद्ध बलिङबाट सुरुवात गर्ने भएको छ। टस जितेका स्कटल्याण्डका कप्तान रिचि बेरिङटन ले पहिले ब्याटिङ रोजेपछि नेपालले फिल्डिङको जिम्मेवारी पाएको हो।
घरेलु मैदानको साथ र समर्थकको उत्साहबीच मैदान उत्रिएको नेपाल आजको खेल जित्दै लिग–२ को अंकतालिकामा आफ्नो स्थिति सुधार गर्ने लक्ष्यमा छ।
कप्तान रोहित पौडेल को नेतृत्वमा नेपालले पछिल्लो खेलमा ओमानलाई हराएको टोलीलाई नै निरन्तरता दिएको छ। टोलीमा विनोद भण्डारी, आसिफ शेख, अर्जुन कुमाल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुलशन झा, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने र ललित राजवंशी समावेश छन्।
युवा खेलाडी इशान पाण्डे ले भने आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय डेब्युका लागि अझै प्रतीक्षा गर्नुपर्ने भएको छ। सोमपाल कामी, भीम सार्की र कुशल भुर्तेल पनि आजको प्लेइङ–११ मा अटाएका छैनन्।
स्कटल्याण्डले आफ्नो अनुभवी तीव्र गतिका बलर साफयान सरिफलाई विश्राम दिएको छ। टोलीका जर्ज मुन्सी, ब्रान्डन म्याकमुलेन, मार्क वाट र माइकल लिस्क जस्ता खेलाडी नेपाल प्रिमियर लिगमा खेलेको अनुभव बोकेर मैदानमा उत्रिएका छन्।
हाल लिग–२ को अंकतालिकामा स्कटल्याण्ड २८ खेलबाट ३४ अंकसहित दोस्रो स्थानमा छ भने नेपाल २४ खेलबाट १८ अंक जोड्दै सातौं स्थानमा रहेको छ।
स्कटल्याण्डविरुद्ध नेपालको बलिङबाट सुरुवात, टस पाहुना टोलीको पक्षमा
Leave a Comment
Leave a Comment

