काठमाडौँ । आइतबार, २५ माघ २०८२
प्रधानमन्त्री सुशीला कार्कीले आज भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा इङ्ल्यान्डसँग हुन गइरहेको टी–२० विश्वकप खेलका लागि नेपाली क्रिकेट टोलीलाई विजयको शुभकामना व्यक्त गरेकी छन्।
शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले कप्तान रोहित पौडेलको नेतृत्वमा मैदान उत्रने टोलीले नेपालको आत्मविश्वास, एकता र सामूहिक भावना विश्वमाझ प्रस्तुत गर्ने विश्वास व्यक्त गरेकी छन्। उनले नेपाली टोलीले अनुशासित र साहसी खेल प्रदर्शन गर्ने अपेक्षा पनि राखेकी छन्।
आइसिसी टी–२० विश्वकप खेलिरहेको नेपाली टोलीलाई देशभित्र मात्र होइन, विश्वभर छरिएका नेपाली तथा क्रिकेटप्रेमीहरूको समर्थन रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले विगतमा नेपाली टोलीले हासिल गरेका उल्लेखनीय सफलता र चमत्कारी प्रदर्शनले आजको खेललाई अझ ऐतिहासिक बनाएको बताइन्।
प्रधानमन्त्री कार्कीले सिङ्गो राष्ट्रका तर्फबाट खेलाडीहरूलाई हार्दिक शुभकामना दिँदै नेपाली टोलीको प्रदर्शनले राष्ट्रिय गौरव बढाउने विश्वास व्यक्त गरेकी छन्।

