राजनीति गरे जागिर गुम्न सक्ने भन्दै निजामती कर्मचारीलाई सरकारको कडा चेतावनी

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं : सरकारले निजामती कर्मचारीलाई राजनीतिक गतिविधिमा संलग्न नहुन कडा निर्देशन दिएको छ। राजनीतिक दल वा तिनका भ्रातृ संगठनसँग आबद्ध भए जागिरसमेत गुम्न सक्ने चेतावनी सरकारले दिएको हो।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार सूचना जारी गर्दै निजामती कर्मचारीलाई संविधान र प्रचलित कानुनअनुसार राजनीतिक रूपमा तटस्थ, निष्पक्ष र जिम्मेवार भएर काम गर्न निर्देशन दिएको जनाएको छ।
मन्त्रालयले निजामती सेवा ऐन, २०४९ को दफा ६१ उपदफा (१) को खण्ड (ङ) उल्लेख गर्दै कर्मचारीले राजनीतिमा प्रत्यक्ष सहभागिता जनाए भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउन सकिने व्यवस्था रहेको स्मरण गराएको छ।
सूचनाअनुसार कुनै पनि निजामती कर्मचारी राजनीतिक दल, भ्रातृ संगठन वा जनवर्गीय संगठनको सदस्य बन्न, राजनीतिक गतिविधिमा सक्रिय हुन तथा राजनीतिक पदका लागि हुने निर्वाचनमा उम्मेदवार बन्न पाउने छैनन्।
मन्त्रालयले यस्ता गतिविधिमा संलग्न कर्मचारीमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने स्पष्ट पारेको छ। साथै, निजामती सेवाको मर्यादा, अनुशासन र आचरणसम्बन्धी व्यवस्था कडाइका साथ पालना गर्न पनि सबै कर्मचारीलाई निर्देशन दिइएको छ।

Leave a Comment