काठमाडौं, जेठ ३ : मुस्ताङको नेपाल–चीन सीमा क्षेत्र कोरला नाकाबाट अवैध रूपमा भित्र्याइँदै गरिएको ठूलो परिमाणको विद्युतीय चुरोट (भेप) बरामद गरिएको छ।
मुस्ताङ भन्सार कार्यालयले शनिबार दुई वटा मालवाहक कन्टेनरबाट ५९२ कार्टुन भेप फेला पारेको जनाएको छ। बरामद गरिएको प्रत्येक कार्टुनमा २२० वटा भेप रहेको बताइएको छ। यस आधारमा करिब एक लाख २० हजारभन्दा बढी भेप बरामद भएको अनुमान गरिएको छ।
ना ६ ख ४७४३ र ना ५ ख ७९२१ नम्बरका कन्टेनर चिनियाँ भन्सारबाट लोड भएर नेपालतर्फ आएका थिए। भन्सार छलेर सामग्री ओसारपसार गर्न खोजिएको गोप्य सूचनापछि भन्सार र सुरक्षा निकायको टोलीले कन्टेनर नियन्त्रणमा लिएको हो।
शनिबार सार्वजनिक बिदा परेका बेला भन्सार कर्मचारीहरू स्थानीय तिजी पर्वमा गएको मौका पारेर कन्टेनर भित्र्याउन खोजिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
घटनामा संलग्न भएको आरोपमा कन्टेनर चालक सन्तोष लामा र फोन्तोज धोर्जेलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको छ।
भन्सार कार्यालयले बरामद गरिएको भेपको परिमाण र मूल्यांकनसहित मुचुल्का तयार गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ।
कोरला नाकाबाट पछिल्लो समय भेप तस्करीका घटना बढ्दै गएका छन्। यसअघि पनि सोही नाकाबाट करोडौँ रुपैयाँ बराबरका विद्युतीय चुरोट बरामद भएका थिए।
कोरला नाकाबाट ठूलो परिमाणमा ‘भेप’ बरामद, दुई चालक पक्राउ
Leave a Comment
Leave a Comment






