समानुपातिक उम्मेदवारी फिर्ताको आज अन्तिम दिन, वारेसमार्फत पनि प्रक्रिया सम्भव

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ, २८ पुस २०८२

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ उम्मेदवार बनेकाहरूले आज (सोमबार) अपरान्ह ४ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्ने छन्। निर्वाचन आयोगका अनुसार उम्मेदवार स्वयं उपस्थित हुन नसके वारेसमार्फत पनि नाम फिर्ता लिने व्यवस्था गरिएको छ।

निर्वाचन आयोगले पुस १३ र १४ गते राजनीतिक दलहरूले पेस गरेका प्रतिनिधि सभा सदस्यका समानुपातिक बन्दसूचीका उम्मेदवारहरूलाई लक्षित गर्दै उम्मेदवारी फिर्ताको कार्यक्रम कार्यान्वयनमा ल्याएको हो। आयोगबाट स्वीकृत निर्वाचन तालिकाअनुसार आज बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिनेछ।

निर्वाचन आयोगका समानुपातिक निर्वाचन अधिकृत कृष्णबहादुर राउतका अनुसार यस सम्बन्धमा सबै उम्मेदवारलाई औपचारिक जानकारी गराइसकिएको छ। उम्मेदवारी फिर्ता लिन चाहनेले प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को अनुसूची–१८ अनुसारको ढाँचामा निवेदन पेस गर्नुपर्नेछ।

उम्मेदवार स्वयं उपस्थित हुन नसक्ने अवस्था आएमा कानुनी प्रक्रिया पूरा गरी वारेस मार्फत पनि निवेदन दिन सकिने आयोगले स्पष्ट पारेको छ।

उल्लेखनीय छ, कूल २७५ सदस्यीय प्रतिनिधि सभामध्ये १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत र ११० जना समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुने व्यवस्था छ। आजको उम्मेदवारी फिर्ता प्रक्रियापछि समानुपातिकतर्फको अन्तिम सूची तय हुने निर्वाचन आयोगले जनाएको छ।

Leave a Comment