आचारसंहिता कार्यान्वयनमा जोड, पत्रकारिताको विश्वसनीयता बढाउन अभिमुखीकरण

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

कलैया, असार २ — मिडिया काउन्सिल मधेश प्रदेशले आयोजना गरेको “स्वच्छ, विश्वसनीय र मर्यादित पत्रकारिताका लागि आचारसंहिता सम्बन्धी अभिमुखीकरण कार्यक्रम” कलैयामा सम्पन्न भएको छ।
कलैया उपमहानगरपालिका–४ स्थित सर्वोत्तम होटलमा आयोजित कार्यक्रममा मिडिया काउन्सिल मधेश प्रदेशकी कार्यवाहक अध्यक्ष बन्दना झाको सभापतित्व तथा मधेश प्रदेशका पूर्व मुख्यमन्त्री जितेन्द्र सोनलको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा पत्रकारिताको गुणस्तर अभिवृद्धि, पेशागत उत्तरदायित्व तथा आचारसंहिताको प्रभावकारी कार्यान्वयनका विषयमा छलफल गरिएको थियो। प्रमुख अतिथि सोनलले लोकतन्त्र सुदृढीकरण, सुशासन प्रवर्द्धन तथा नागरिकलाई सही सूचना प्रवाहमा पत्रकारिताको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै सत्य, निष्पक्ष र जनउत्तरदायी पत्रकारितामा जोड दिनुपर्ने बताए।
विशिष्ट अतिथि तथा प्रशिक्षक धर्मेन्द्र झाले पत्रकारिता आचारसंहिता, सञ्चार क्षेत्रका चुनौती, डिजिटल युगमा पत्रकारिताको जिम्मेवारी तथा समाचार लेखनका आधारभूत मान्यताबारे प्रशिक्षण दिएका थिए। उनले पत्रकारितालाई विश्वसनीय, मर्यादित र जनमुखी बनाउन आचारसंहिताको पूर्ण पालना आवश्यक रहेको बताए।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सिकेन्द्र पासवान, मधेश प्रदेश अध्यक्ष शयाम बन्जारा, प्रदेश कोषाध्यक्ष अनिल गौरव तथा प्रदेश सदस्य साजिर मन्सुरलगायतको सहभागिता रहेको थियो।
कार्यवाहक अध्यक्ष झाले पत्रकारहरूको क्षमता अभिवृद्धि र व्यावसायिक दक्षता विकासका लागि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिने बताइन्। कार्यक्रममा सहभागी पत्रकारहरूले आचारसंहिता, व्यावसायिक नैतिकता तथा वर्तमान सञ्चार क्षेत्रका चुनौतीबारे उपयोगी जानकारी प्राप्त भएको प्रतिक्रिया दिएका थिए।
मिडिया काउन्सिलका प्रशासकीय अधिकृत ओमविक्रम कटुवालले सञ्चालन गरेको कार्यक्रममा बारा जिल्लाका विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकार तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमले स्वच्छ, निष्पक्ष र मर्यादित पत्रकारिताको प्रवर्द्धनमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।

 

Leave a Comment