नेपाल प्रहरीको नयाँ आईजीपीमा दानबहादुर कार्की नियुक्त

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

२४ कात्तिक, २०८२ | काठमाडौं
नेपाल प्रहरीले नयाँ नेतृत्व पाएको छ। सरकारले प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीलाई ३३औं प्रहरी महानिरीक्षक (आईजीपी) पदमा नियुक्त गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
हाल काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख रहेका कार्की वर्तमान प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ बुधबारदेखि ३० वर्षे सेवा अवधि पूरा गरेर अवकाशमा जाने भएपछि नेतृत्वमा आएका हुन्।

पहिलो नम्बरका एआईजी कार्की

एआईजी कार्की हालैसम्म प्रहरी संगठनका वरिष्ठतम अधिकारी हुन्। उनी अहिलेको मितिअनुसार २०८४ चैत १८ गतेसम्म प्रहरी संगठनको नेतृत्व सम्हाल्नेछन्।
कार्कीले ०५४ चैत १८ गते प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका थिए।
उनले ०६६ सालमा डिएसपी, ०७४ मा एसपी, ०७९ मा एसएसपी र त्यसपछि क्रमशः बढुवा हुँदै संगठनभित्र अग्रस्थान कायम गर्दै आएका छन्।

संगठनभित्रको यात्रा

एसएसपी हुँदा उनले काठमाडौं प्रहरी परिसर प्रमुखका रूपमा काम गरेका थिए। त्यसबाहेक उनी प्रहरी महानिरीक्षकको सचिवालयमा पनि कार्यरत रहँदै संगठनका विभिन्न नीतिगत तथा प्रशासनिक कार्यमा सहभागी भएका थिए।
०८१ साल जेठमा डीआईजीमा बढुवा भएका कार्कीले त्यसबेला प्रहरी संगठनका केन्द्रीय प्रवक्ताको जिम्मेवारी पनि सम्हालेका थिए। त्यसपछि उनी लुम्बिनी प्रदेश प्रहरी प्रमुख बनेका थिए।

०८२ वैशाखमा एआईजीमा बढुवा हुँदा उनी आफ्नै ब्याचका राजन अधिकारी र मनोजकुमार केसीसँगै पदोन्नत भएका थिए।
एआईजी बनेपछि उनी प्रहरीको मानव स्रोत विभागमा प्रमुख भएर कार्यरत थिए।

जेनजी आन्दोलनपछि उपत्यका प्रहरी प्रमुख

गत भदौमा जेनजी आन्दोलनका क्रममा ठूलो मानवीय क्षति भएपछि कार्कीलाई २४ भदौमा काठमाडौं उपत्यका प्रहरी प्रमुखको रूपमा सरुवा गरिएको थियो।
त्यो समयमा उनले आन्दोलनका क्रममा “मानवीय क्षति हुने गरी बल प्रयोग नगर्न” भन्दै प्रहरीलाई संयम अपनाउन निर्देशन दिएका थिए। उनले हातहतियार, सवारी साधन र कार्यालयका महत्वपूर्ण वस्तुको सुरक्षामा ध्यान दिन आदेश दिएका थिए।


 

Leave a comment