काठमाडौं — फिफा विश्वकप २०२६ मा बेल्जियम र इङ्ल्यान्डले रोमाञ्चक जित निकाल्दै अन्तिम १६ मा प्रवेश गरेका छन्।
गएराति भएका खेलमा दुवै टोलीले पछि परेको अवस्था उल्टाउँदै जित हात पारेका हुन्।
सिएटलमा भएको खेलमा बेल्जियमले सेनेगलविरुद्ध २–० ले पछि परेको अवस्था उल्टाएर ३–२ को नाटकीय जित निकाल्यो। सेनेगलका लागि हबिब डियारा र इस्माइला सारले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।
तर खेलको अन्तिम समयमा बेल्जियमले उत्कृष्ट पुनरागमन गर्यो। ८६औँ मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै आशा जगाए भने ८९औँ मिनेटमा युरी टिलेमान्सले हेडरमार्फत खेल बराबरीमा ल्याए।
अतिरिक्त समयको अन्तिम क्षणमा टिलेमान्सले पेनाल्टीमार्फत अर्को गोल थपेपछि बेल्जियम ३–२ ले विजयी हुँदै अन्तिम १६ मा पुग्यो।
यस्तै, एट्लान्टामा भएको खेलमा इङ्ल्यान्डले कंगो डीआरमाथि २–१ को कठिन जित दर्ता गर्यो।
कंगोका ब्रायन सिपेङ्गाले सातौँ मिनेटमै गोल गर्दै अग्रता बनाए पनि इङ्ल्यान्डका कप्तान ह्यारी केनले ७५औँ मिनेटमा बराबरी गोल फर्काए। त्यसपछि ८६औँ मिनेटमा केनले नै दोस्रो गोल गर्दै टोलीलाई जित दिलाए।
अन्तिम १६ मा बेल्जियमले जुलाई ६ मा सिएटलमा अमेरिका वा बोस्निया एन्ड हर्जगोभिनासँग खेल्नेछ। इङ्ल्यान्डले भने जुलाई ५ मा मेक्सिको सिटीमा सहआयोजक मेक्सिकोको सामना गर्नेछ।
बेल्जियम र इङ्ल्यान्डको शानदार कमब्याक, विश्वकपको अन्तिम १६ मा स्थान सुरक्षित
Leave a Comment
Leave a Comment






