बजेट सच्याउन माग गर्दै प्रतिपक्षको अवरोध, मधेस प्रदेश सभा बैठक स्थगित

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

जनकपुरधाम — मधेस प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथिको छलफलका लागि बोलाइएको प्रदेश सभा बैठक प्रतिपक्षी दलहरूको अवरोधपछि स्थगित भएको छ।
बैठक सुरु हुनासाथ जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले उठेर बजेट अव्यवस्थित रहेको भन्दै संशोधनको माग गरेका थिए।
प्रतिपक्षी सांसदहरूको अवरोधपछि सभामुख रामआशिष यादवले बैठक १० मिनेटका लागि स्थगित गरेका थिए। त्यसपछि सत्ता पक्ष र प्रतिपक्षबीच सहमतिको प्रयास भए पनि निष्कर्ष ननिस्किएपछि बैठक बिहीबार पुनः बस्ने गरी स्थगित गरिएको हो।
प्रतिपक्षी दलहरूले बजेट नसच्याएसम्म प्रदेश सभा चल्न नदिने चेतावनी दिएका छन्।
जसपा नेपालका सांसद उपेन्द्र महतोले मधेस प्रदेशको इतिहासमै यति अव्यवस्थित बजेट नआएको दाबी गरे। उनले एउटै शीर्षकभित्र धेरै साना तथा फरक प्रकृतिका योजना समेटेर बजेटलाई भद्रगोल बनाइएको आरोप लगाए।
प्रतिपक्षी सांसदहरूले एक करोडभन्दा कमका योजना नराख्ने भनिए पनि एउटै शीर्षकभित्र विभिन्न पालिका, वडा र टोलका धेरै योजना गाभिएको भन्दै कार्यान्वयनमा समस्या आउने बताएका छन्।
जसपा नेपालका सांसद जयनुल राईनले एउटै शीर्षकमा मन्दिर, मदरसा, कब्रस्तान, सडक ढलान, बाउन्ड्री वाल, बोरिङ र भवन मर्मतजस्ता फरक–फरक काम राखिएको भन्दै आपत्ति जनाए।
यता अर्थमन्त्री युवराज भट्टराईले यस्तो प्रकारको बजेट पहिलो पटक नभएको दाबी गर्दै विगतमा पनि यस्ता बजेट कार्यान्वयन भएको बताए। उनले बजेट सम्बन्धित मन्त्रालयहरूले पठाएको विवरणका आधारमा तयार भएको भन्दै अर्थ मन्त्रालयलाई दोष दिन नमिल्ने बताए।
मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट ल्याएको छ। बजेटमा कृषि नवप्रवर्तन, उद्यमशीलता, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखिएको सरकारले जनाएको छ।

Leave a Comment