पत्रकार खेम भण्डारी पक्राउ, अदालतमा उपस्थित

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

कञ्चनपुर, असार १८ — कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई प्रहरीले पक्राउ गरी बिहीबार जिल्ला अदालतमा उपस्थित गराएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी नेत्रमणि गिरीका अनुसार अदालतको फैसला कार्यान्वयनका लागि भण्डारीलाई बिहान भीमदत्त नगरपालिका–१८ कटानस्थित निवासबाट पक्राउ गरिएको हो। पक्राउपछि उनलाई आवश्यक कानुनी प्रक्रिया पूरा गर्न अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।
जिल्ला अदालत कञ्चनपुरले २०८२ जेठ १ गते गाली बेइज्जती मुद्दामा भण्डारीलाई १ महिना ७ दिन कैद र १२ हजार १०० रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो।
उक्त मुद्दा १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणसँग सम्बन्धित समाचार तथा सामाजिक सञ्जालमा प्रकाशित सामग्रीका विषयमा तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टका छोरा किरण विष्टले दर्ता गराएका थिए। उनले ती सामग्रीले आफ्नो प्रतिष्ठामा आँच पुगेको दाबी गरेका थिए।
जिल्ला अदालतको फैसलाविरुद्ध भण्डारीले उच्च अदालतमा पुनरावेदन गरे पनि उच्च अदालत दिपायलको महेन्द्रनगर–धनगढी इजलासले गत चैत २२ गते जिल्ला अदालतकै फैसला सदर गरेको थियो। त्यसपछि अदालतको आदेश कार्यान्वयनका क्रममा प्रहरीले उनलाई पक्राउ गरेको हो।

Leave a Comment