ऐतिहासिक रन चेज गर्दै पञ्जाबको धमाकेदार जित

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, वैशाख १३ — इण्डियन प्रिमियर लिग (आईपीएल) को जारी संस्करणमा पञ्जाब किंग्स ले इतिहासकै ठूलो लक्ष्य पछ्याउँदै कीर्तिमानी जित दर्ता गरेको छ। दिल्ली क्यापिटल्स विरुद्ध शनिबार भएको खेलमा पञ्जाबले २६५ रनको विशाल लक्ष्य १८.५ ओभरमै ४ विकेट गुमाएर पूरा गर्दै नयाँ कीर्तिमान बनाएको हो।
इण्डियन प्रिमियर लिग को इतिहासमै सबैभन्दा ठूलो रन चेज सफल पार्दै पञ्जाबले आफ्नै पुरानो कीर्तिमानसमेत तोडेको छ। यसअघि उसले २०२४ मा २६२ रनको लक्ष्य पछ्याएको थियो।
पञ्जाबको जितमा ओपनर प्रभसिमरन सिंह ले २६ बलमा ७६ रनको विस्फोटक इनिङ खेले। उनले ९ चौका र ५ छक्का प्रहार गर्दै सुरुआतमै खेल आफ्नो पक्षमा ल्याए। उनलाई साथ दिँदै प्रियाशं आर्य ले १७ बलमा ४३ रन जोडे। यी दुईबीच पहिलो विकेटका लागि ४१ बलमा १२६ रनको आक्रामक साझेदारी भयो।
कप्तान श्रेयस अय्यर ले ३६ बलमा अविजित ७१ रन बनाउँदै टोलीलाई लक्ष्यसम्म पुर्‍याए। अन्त्यतिर शशांक सिंह अविजित रहेर जित सुनिश्चित गरे।
यसअघि पहिले ब्याटिङ गरेको दिल्लीका लागि केएल राहुल ले कीर्तिमानी शतक प्रहार गरे। उनले ६७ बलमा १५२ रन बनाउँदै आईपीएलमा १५० रन पार गर्ने दुर्लभ उपलब्धि हासिल गरे। राहुल र नितिश राणा बीच २२० रनको विशाल साझेदारी भएको थियो, जहाँ राणाले ९१ रन जोडे।
तर यति ठूलो योगफलसमेत जोगाउन नसक्दा दिल्ली हार व्यहोर्न बाध्य भयो। बलिङतर्फ दिल्लीका कुलदीप यादवले २ विकेट लिए भने अक्षर पटेल र विपराज निगमले समान १ विकेट लिए।
यस जितसँगै पञ्जाब ७ खेलबाट १३ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा कायमै छ भने दिल्ली समान खेलबाट ६ अंकसहित छैटौं स्थानमा रहेको छ।

Leave a Comment