रास्वपाले सांसदलाई डिजिटल प्रणालीमा आबद्ध गर्दै, आज विशेष अभिमुखीकरण

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट
फोटो फाइल

काठमाडौं, असार १९ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना संघीय सांसदहरूलाई डिजिटल प्रणालीमा आबद्ध गराउने उद्देश्यसहित शुक्रबार विशेष अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
पार्टीले विकास गरेको ‘PulseRSP’ नामक डिजिटल प्लेटफर्मको प्रयोग, कार्यविधि र साइबर सुरक्षासम्बन्धी जानकारी दिन कार्यक्रम आयोजना गरिएको हो। रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार यस प्रणालीमार्फत सांसदहरूको दैनिक गतिविधि व्यवस्थित र पारदर्शी बनाइने लक्ष्य राखिएको छ।
रास्वपा संसदीय दलको कार्यालयमा हुने कार्यक्रममा पार्टी सभापति रवि लामिछानेले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ। कार्यक्रममा प्रतिनिधिसभाका सबै सांसदहरूको सहभागिता रहने जनाइएको छ।
नयाँ प्रणाली लागू भएपछि सांसदहरूले आफू सहभागी भएका बैठक, निर्वाचन क्षेत्रका भ्रमण, भेटघाट, छलफल तथा संसदीय गतिविधि अनिवार्य रूपमा डिजिटल प्रणालीमा अद्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको छ। संसद्मा उठाउने विषयवस्तुसमेत पूर्वजानकारीका रूपमा यही प्लेटफर्ममा राख्नुपर्नेछ।
यस प्रणालीमार्फत सांसदहरूबीच भेटघाटका लागि अनलाइनबाटै समय तय गर्न सकिने सुविधा पनि उपलब्ध हुनेछ। साथै नागरिकहरूले आफ्ना निर्वाचन क्षेत्रका सांसदसँग प्रत्यक्ष गुनासा, सुझाव तथा समस्या दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको छ।
रास्वपाका अनुसार नागरिकबाट प्राप्त गुनासो तथा त्यसको सम्बोधनको अवस्थासमेत डिजिटल रूपमा ट्र्याक गरिनेछ। यही विवरणका आधारमा सांसदहरूको कार्यसम्पादन मूल्याङ्कन गर्ने व्यवस्था समेत प्रणालीमा समावेश गरिएको छ।
पार्टीले डिजिटल प्रविधिको प्रयोगमार्फत संसदीय गतिविधिलाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने उद्देश्यले ‘PulseRSP’ प्रणाली कार्यान्वयनमा ल्याएको जनाएको छ।

Leave a Comment