इरानी मिसाइल आक्रमणमा कुवेतमा कार्यरत नेपाली श्रमिकको मृत्यु

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, साउन १५ — कुवेतमा भएको इरानी मिसाइल आक्रमणमा परी एक नेपाली श्रमिकको मृत्यु भएको छ। मृत्यु हुनेमा तेह्रथुमका ४४ वर्षीय सोमकुमार तामाङ रहेका छन्।
कुवेतस्थित नेपाली दूतावासका अनुसार कुवेतको उत्तरी क्षेत्रमा रहेको फुफेन आइल्यान्डस्थित एक चिनियाँ कम्पनीको भवनमा इरानले मिसाइल प्रहार गर्दा तामाङको ज्यान गएको हो। उक्त घटना बिहीबार भएको दूतावासले जनाएको छ।
तामाङ सन् २०२२ देखि कुवेतमा सवारी चालक (ड्राइभर)का रूपमा कार्यरत थिए। आक्रमणका कारण भवनमा ठूलो भौतिक क्षति पुगेको बताइएको छ।
इरान र अमेरिका–इजरायलबीच जारी द्वन्द्वका कारण पश्चिम एसियामा ज्यान गुमाउने नेपाली श्रमिकको संख्या अब दुई पुगेको छ। यसअघि संयुक्त अरब इमिरेट्स (यूएई)मा गोरखाका दिवस श्रेष्ठको पनि मृत्यु भएको थियो।
कुवेतको रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार इरानी आक्रमणले उत्तरी क्षेत्रमा रहेको चिनियाँ कम्पनीको भवनलाई लक्षित बनाएको थियो, जसमा एक श्रमिकको मृत्यु हुनुका साथै भवनमा व्यापक क्षति पुगेको जनाएको छ।
कुवेत सरकारले एक साताअघि सार्वजनिक गरेको तथ्यांकअनुसार हाल कुवेतमा करिब १ लाख ८६ हजार नेपाली कार्यरत छन्। तीमध्ये १ लाख १५ हजार कम्पनीमा, ६८ हजार ९ सय घरेलु श्रमिकका रूपमा तथा ४ सय २१ जना सरकारी क्षेत्रमा कार्यरत रहेका छन्।

Leave a Comment