एभिन्युज टेलिभिजनद्वारा १ लाख राशीकाे शहीद सुरेश रजक स्मृति टेलिभिजन पत्रकारिता सम्मान घोषणा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

१६ चैत,काठमाडौ-एभिन्युज टेलिभिजनद्वारा १ लाख राशीकाे शहीद सुरेश रजक स्मृति टेलिभिजन पत्रकारिता सम्मान घोषणाएभिन्युज टेलिभिजन नेटवर्क प्रालिले पत्रकार शहीद सुरेश रजकको स्मृतिमा टेलिभिजन पत्रकारिता सम्मान घोषणा गरेको छ।

टेलिभिजनका कार्यकारी अध्यक्ष भाष्करराज राजकर्णिकारद्वारा जारी प्रेस विज्ञप्ति अनुसार, २०७९ चैत १५ गते काठमाडौँको तीनकुने क्षेत्रमा भएको आन्दोलनका क्रममा मिडिया रिपोर्टिङका बेला ज्यान गुमाएका एभिन्युजका क्यामरा म्यान पत्रकार सुरेश रजकको सम्झनामा यो सम्मान स्थापना गरिएको हो।

रजकको निधन भएको एक वर्ष पूरा भएको अवसरमा उक्त सम्मान घोषणा गरिएको कार्यकारी अध्यक्षद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। एभिन्युज नेटवर्क प्रालिले शहीद रजकप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न आफ्नो प्रतिबद्धता दोहोर्याएको छ।
घोषित सम्मान प्रत्येक वर्ष एक जना उत्कृष्ट टेलिभिजन पत्रकारलाई प्रदान गरिनेछ। सम्मानसँगै नगद रु. १ लाख १ हजार १ सय १ रूपैयाँ र प्रमाणपत्र प्रदान गरिने व्यवस्था गरिएको छ।

यस पुरस्कारका लागि सम्बन्धित वर्षमा प्रसारित उत्कृष्ट टेलिभिजन समाचार, कार्यक्रम तथा खोजमूलक रिपोर्ट प्रस्तुत गर्ने पत्रकारहरूबाट आवेदन माग गरिने जनाइएको छ। छनोट प्रक्रिया पारदर्शी बनाउन वरिष्ठ पत्रकारहरूको सहभागितामा निर्णायक समिति गठन गरिनेछ।

कम्पनीले पत्रकार सुरेश रजकको योगदानलाई स्मरण गर्दै पत्रकारितामा जोखिमपूर्ण परिस्थितिमा पनि सत्य तथ्य बाहिर ल्याउने कार्यलाई प्रोत्साहन गर्न यस्तो पहल गरिएको कार्यकारी अध्यक्ष राजकर्णिकारद्वारा जारी विज्ञप्तिमा जनाएको छ।

Leave a Comment