न्यायको खोजीमा फेरि पैदल यात्रा, मिटरब्याज पीडित काठमाडौंतर्फ हिँडे

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

जनकपुरधाम, असार २५ – मिटरब्याजबाट पीडित किसान, मजदुर तथा सर्वसाधारणले आफ्ना माग कार्यान्वयन गराउन जनकपुरधामको ऐतिहासिक तिरहुतियागाछीबाट काठमाडौंसम्मको पैदल मार्च सुरु गरेका छन्।
यही स्थानमा गत माघ ४ गते आयोजित सभामा वर्तमान प्रधानमन्त्री बालेन शाहले मिटरब्याज पीडितले अब अधिकारका लागि काठमाडौं धाउन नपर्ने बताएका थिए। तर त्यसयता आफूहरूको समस्या समाधानका लागि प्रभावकारी पहल नभएको निष्कर्ष निकाल्दै पीडितहरू पुनः राजधानी केन्द्रित आन्दोलनमा उत्रिएका हुन्।
‘मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन नेपाल’को नेतृत्वमा सुरु भएको मार्च ६ बुँदे मागमा केन्द्रित छ। आन्दोलनकारीहरूले मिटरब्याजसँग सम्बन्धित तमसुक, दृष्टिबन्धक, रजिस्ट्रेसन, चेकलगायतका फर्जी कागजात मन्त्रिपरिषद्को निर्णयबाट अवैध घोषणा गरी खारेज गर्न माग गरेका छन्।
उनीहरूले मिटरब्याज अपराध नियन्त्रणका लागि कडा कानुन निर्माण, विशेष न्यायाधिकरण गठन, पीडितमैत्री न्यायिक संयन्त्र स्थापना तथा फर्जी मुद्दाको पुनरावलोकन गर्न पनि सरकारसँग आग्रह गरेका छन्।
यस्तै, साहु–महाजनले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्तिको छानबिन गरी जफत गर्न, पीडितको चल–अचल सम्पत्ति फिर्ता गराउन, दोषीलाई कानुनी कारबाही गर्न र पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग पनि अघि सारिएको छ। साना व्यवसायी, किसान र श्रमिकका लागि सहज ऋण तथा न्यायपूर्ण वित्तीय पहुँच सुनिश्चित गर्ने विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने उनीहरूको अर्को माग हो।
आन्दोलनका अगुवाहरूका अनुसार विगतमा सरकारसँग भएका विभिन्न सहमति कार्यान्वयन नभएकाले फेरि आन्दोलनको बाटो रोज्नुपरेको हो। उनीहरूले दैनिक २० देखि २५ किलोमिटर पैदल यात्रा गर्दै काठमाडौं पुग्ने योजना बनाएका छन्। यात्राका क्रममा विभिन्न जिल्लाका अन्य मिटरब्याज पीडित पनि आन्दोलनमा सहभागी हुँदै जाने विश्वास आयोजकहरूको छ।

Leave a Comment