काभ्रेपलाञ्चोक, चैत ७ — अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध बनेको वीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ। पानीको बहाव घटेपछि क्षतिग्रस्त सडक मर्मत गरिएसँगै सवारी साधन आवागमन सुचारु गरिएको हो।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार रोशी गाउँपालिकाका चारसयबेशी, गिम्दी, दाउन्ने र कालढुङ्गा क्षेत्रमा बनाइएका अस्थायी डाइभर्सन बाढीले बगाएको थियो। त्यसपछि सडक विभाग र स्थानीय तहसँग समन्वय गरी ती स्थानमा मर्मत कार्य सम्पन्न गरिएपछि यातायात पुनः सञ्चालनमा ल्याइएको हो।
यद्यपि, वर्षा हुने सम्भावना अझै कायम रहेकाले यात्रु तथा सवारी चालकलाई सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ। राजमार्गको अवस्थाबारे बुझेर मात्र यात्रा गर्न पनि अनुरोध गरिएको छ।
यसअघि राजमार्ग अवरुद्ध हुँदा काभ्रे खण्डका सवारी साधनलाई धुलिखेल, भकुण्डे र कटुन्जेमा रोकिएको थियो भने सिन्धुली खण्डबाट आउने सवारी साधनलाई दुम्जा प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय सिन्धुलीको चेकपोष्टमा होल्ड गरिएको थियो।

