थाइल्याण्डको पबमा भीषण आगलागी : २७ जनाको मृत्यु, ६३ घाइते

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं । थाइल्याण्डको राजधानी बैंककको उत्तरी क्षेत्रमा रहेको चर्चित ‘ना लाडप्राओ’ पबमा मध्यराति भएको भीषण आगलागीमा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने ६३ जना घाइते भएका छन्।
थाइल्याण्डका प्रधानमन्त्री अनुतिन चानभिराकुल ले घटनास्थलबाट सञ्चारमाध्यमसँग कुरा गर्दै २७ जनाको शव फेला परिसकेको पुष्टि गरेका छन्। घाइतेहरूलाई विभिन्न अस्पतालमा उपचारका लागि भर्ना गरिएको र केहीको अवस्था गम्भीर रहेको उनले बताएका छन्।
प्रारम्भिक अनुसन्धानअनुसार आगलागी हुनु अघि मञ्च नजिक रहेको सर्किट ब्रेकरबाट धुवाँ निस्किएको देखिएको थियो। त्यसको केही क्षणमै ठूलो विस्फोट भएको र पबभित्र बाक्लो धुवाँ फैलिँदा उपस्थित मानिसहरू भाग्न नपाउँदै फसेका थिए। अधिकांश मृतक पबको पछाडिको शौचालय क्षेत्रमा फेला परेको जनाइएको छ।
उद्धारकर्मीहरूले सार्वजनिक गरेको भिडियोमा पबको मुख्य प्रवेशद्वारबाट आगोको ठूलो लप्का र कालो धुवाँको मुस्लो निस्किएको देखिन्छ। आगलागीपछि घटनास्थलमा भागदौड मच्चिएको थियो भने दमकल र उद्धार टोलीले करिब आधा घण्टाको प्रयासपछि आगो नियन्त्रणमा लिएका थिए।
आगलागीको वास्तविक कारणबारे विस्तृत अनुसन्धान सुरु गरिएको थाइल्याण्डका अधिकारीहरूले बताएका छन्।

Leave a Comment