आज आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती, देश–विदेशमा विविध कार्यक्रम

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं । नेपाली भाषा, साहित्य र संस्कृतिका आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज नेपाल तथा विदेशमा रहेका नेपाली समुदायले विभिन्न कार्यक्रम आयोजना गरी मनाइरहेका छन्।
वि.सं. १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिएका भानुभक्तले संस्कृत भाषामा रहेको रामायणलाई सरल नेपाली भाषामा भावानुवाद गरी नेपाली भाषाको विकासमा ऐतिहासिक योगदान पुर्‍याएका थिए। उनका कारण नेपाली भाषा र साहित्यले नयाँ उचाइ प्राप्त गरेको मानिन्छ।
भानुभक्तका प्रमुख कृतिहरूमा रामायण, वधुशिक्षा, प्रश्नोत्तर, भक्तमाला, रामगीता लगायतका रचनाहरू रहेका छन्। उनका साहित्यले नेपाली भाषा, राष्ट्रिय एकता, सांस्कृतिक चेतना र पहिचानलाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको छ।
भानु जयन्तीको अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानसहित विभिन्न साहित्यिक तथा सांस्कृतिक संस्थाले माल्यार्पण, प्रभातफेरी, साहित्यिक गोष्ठी, कविता वाचन तथा अन्य विशेष कार्यक्रम आयोजना गरेका छन्। घरघरमा नेपाली भाषामा अनूदित रामायणको पाठ गरेर पनि भानुभक्तलाई स्मरण गर्ने परम्परा रहिआएको छ।
नेपालसँगै भारतका दार्जिलिङ, सिक्किम, असम, भुटान, म्यानमार तथा अन्य मुलुकमा रहेका नेपाली भाषी समुदायले पनि भानुभक्तको जन्मजयन्ती विविध कार्यक्रमका साथ मनाइरहेका छन्। नेपाली भाषा, साहित्य र राष्ट्रिय पहिचानलाई एक सूत्रमा बाँध्न भानुभक्त आचार्यले पुर्‍याएको योगदान आज पनि उत्तिकै प्रेरणादायी मानिन्छ।

Leave a Comment