महिला नेतृत्व सशक्तिकरणतर्फको महत्वपूर्ण कदमः बारामा सम्पन्न ३ दिने विशेष तालिम

बिश्व खबर
पढ्न लाग्ने समय : 2 मिनेट

२९ श्रावण,बारा: महिला प्रधानाध्यापकहरुका लागि नेतृत्व क्षमता विकास सम्बन्धि ३ दिने तालिम विहिवार सम्पन्न भएको छ ।
कलैया उपमहानगरपालिका ३ गंगापुर स्थित तालिम केन्द्रमा मधेश प्रदेशका २० वटा पालिकाका ६० जना महिला प्रधानाध्यापकहरुलाई नेतृत्व क्षमता विकास सम्बन्धि तालिम दिइएको हो ।
श्रावण २७ गते देखि संचालन गरिएको उक्त तालिममा मधेश प्रदेशका ८ जिल्लाका २० वटा पालिकाका ६० जना महिला प्रधानाध्यापकहरुलाई सहभागी गराइएको एजुकेशन पेजेजका कार्यकारी निर्देशक लव राज ओलीले बताउनुभयो ।
तालिम केन्द्र बाराको आयोजना तथा एजुकेशनल पेजेज र युनसेफ नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा तालिमको आयोजना गरिएको निर्देशक ओलीले बताउनुभयो ।
यस तालिमको मुख्य उद्देश्य महिला प्रधानाध्यापकहरूको शैक्षिक नेतृत्व सीप अभिवृद्धि, विद्यालय व्यवस्थापनमा दक्षता, र निर्णय क्षमतामा सुदृढता ल्याउनु रहेको उहाँले बताउनुभयो ।
तालिममा सहभागी महिला प्रधानाध्यापकहरूले विद्यालयको गुणस्तरीय शिक्षा, शैक्षिक वातावरण सुधार, टिम व्यवस्थापन तथा सामुदायिक सहकार्यका प्रभावकारी तरिकाहरू सिक्ने अवसर प्राप्त गरेको उहाँले बताउनुभयो ।
महिला प्रधानाध्यापकको नेतृत्व विकासले बालिका शिक्षामा प्रत्यक्ष प्रभाव पार्ने भएकोले तालिमको आयोजना गरिएको उहाँले बताउनुभयो ।
हाम्रो समाजमा अहिले पनि महिलाहरु पछाडी परेका छन्,उहाँले भन्नुभयो,‘महिलाहरुको चौतर्फी विकासको लागि हाम्रो संस्था लागिपरेको छ । अहिले पनि हाम्रो समाजमा महिलाहरु खुलेर बोल्न नसक्ने, नेतृत्व लिन डराउने, नेतृत्व क्षमता हुँदा हुँदै पनि अगाडी बढन हिचकिचाउने बानीले उनीहरुलाई पछाडी पार्दै गरेको कारण यस्ता तालिमको आवश्कता परेको उहाँले बताउनुभयो ।’
तालिममा सिकेका कुराहरु व्यवहारमा लागू गर्ने र अहिले तालिममा सहभागी भएका प्रधानाध्यापकहरुले गरेको काम, उहाँहरुको नेतृत्व क्षमताले हाम्रा भावी सन्ततीहरुलाई समेत शिक्षा आर्जन र नेतृत्व विकासमा अगाडी बढन प्रेरणा मिल्ने तालिम केन्द्र बाराका शाखा अधिकृत राजन भण्डारीले बताउनुभयो ।
नेतृत्व क्षमता विकास तालिमले हामीमा अझ राम्रो गर्ने उर्जा प्रवाह गरेको तालिममा सहभागी प्रधानाध्यापक तुलसा कुमारी गौतमले बताउनुभयो । यो तालिमको समयावधि केही दिन अरु बढाएको भए हामीलाई सिक्न झन सजिलो हुने उहाँले जानकारी दिनुभयो ।
कार्यक्रमका दौरान सहभागीहरूलाई व्यावहारिक अभ्यास, अन्तरक्रियात्मक समूह कार्य, अनुभव आदान–प्रदान, तथा नेतृत्व मनोविज्ञान सम्बन्धी सत्रहरू संचालन गरिएको गौतमले बताउनुभयो ।
तालिमको प्रशिक्षण राजन भण्डारी, भगिरथ झा, बविता कुमारी कुशवाहा,तेजीलाल साह, लक्ष्मण भट्टराई लगायतकाले गर्नु भएको थियो ।

Leave a Comment