गौर तनाव: कर्फ्युबीच पनि आगजनी, सेना परिचालन

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

रौतहट, ९ फागुन — दुई समुदायबीचको विवाद उग्र बनेपछि रौतहटको सदरमुकाम गौरमा कर्फ्यु जारी गर्दै नेपाली सेना परिचालन गरिएको छ। शनिबार दिउँसो १ बजेदेखि स्थानीय प्रशासनले कर्फ्यु आदेश लागू गरेपछि मुख्य सडक र चोकहरूमा सुरक्षा उपस्थिति कडा बनाइएको छ।

नेपाली सेना र प्रहरीको संयुक्त गस्तीपछि बजार क्षेत्र शान्त देखिए पनि सुरक्षा घेराभन्दा बाहिरका भित्री बस्तीहरूमा छिटपुट आगजनीका घटना जारी रहेका छन्। गौर नगरपालिका–४ मचकुटिया टोलमा कर्फ्युबीचै एउटा स्कुटरमा आगजनी गरिएको छ। हालसम्म ६ वटा मोटरसाइकल र २ वटा जिप जलाइएको प्रशासनले जनाएको छ।

रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेस सागर भुसाल

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार संवेदनशील क्षेत्रमा सेना ‘फ्ल्याग मार्च’ र निगरानीमा खटिएको छ। मन्दिर, मस्जिद तथा महत्वपूर्ण सरकारी संरचनाको सुरक्षामा सेना तैनाथ गरिएको छ भने हुलदङ्गा र आगजनी नियन्त्रणमा प्रहरी परिचालित छ।

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालका अनुसार कर्फ्यु लागू भएपछि अवस्था क्रमशः नियन्त्रणमा आउँदै गएको छ। आगजनी र हुलहुज्जतमा संलग्न १८–१९ जनालाई पक्राउ गरिएको उनले बताए। गौर भन्सार कार्यालयसम्मको दक्षिण क्षेत्र कर्फ्युको दायरामा राखिएको छ।

प्रशासनका अनुसार तनावको मूल कारण मस्जिद नजिक भइरहेको विवाह समारोहमा डिजेबाट ठूलो आवाजमा गीत बजाइएका विषयलाई लिएर दुई समुदायबीच उत्पन्न विवाद हो। रमजान चलिरहेका बेला ध्वनि प्रदूषण भएको भन्दै विवाद सुरु भएको र शुक्रबार राति नै दुवै पक्षबीच सहमति गराइए पनि शनिबार पुनः झडपमा परिणत भएको हो।

विवाद पुनः चर्किनुमा बाह्य उक्साहट छ कि भन्ने विषयमा पनि अनुसन्धान भइरहेको प्रशासनले जनाएको छ। निर्वाचन सुरक्षाका लागि पहिल्यैदेखि जिल्लामा खटिएको नेपाली सेनालाई स्थिति संवेदनशील बनेपछि अतिरिक्त जिम्मेवारीसहित परिचालन गरिएको हो।

कर्फ्यु जारी रहेकाले सर्वसाधारणलाई घरबाहिर ननिस्कन प्रशासनले आग्रह गरेको छ भने शान्ति सुरक्षा पूर्ण रूपमा कायम नभएसम्म सुरक्षा संयन्त्र उच्च सतर्कतामा रहने जनाएको छ।

 

Leave a Comment