काठमाडौं, साउन ४ — रुसले युक्रेनको राजधानी किभमा युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको युक्रेनले जनाएको छ। शनिबार रातभर गरिएको आक्रमणमा कम्तीमा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसलाई ‘किभमाथिको अहिलेसम्मकै सबैभन्दा ठूलो ब्यालिस्टिक आक्रमणमध्ये एक’ भन्दै रुसले राजधानीलाई लक्षित गरी व्यापक विनाश मच्चाउने प्रयास गरेको बताएका छन्।
युक्रेनी सेनाका अनुसार रुसले विभिन्न प्रकारका ४१ वटा क्षेप्यास्त्र प्रहार गरेको थियो, जसमध्ये १८ वटा आकाशमै निष्क्रिय पारिएको दाबी गरिएको छ। साथै १२५ वटा ड्रोन प्रयोग गरिएकामा १०८ वटा ड्रोन पनि खसालिएको सेनाले जनाएको छ।
युक्रेनी वायुसेनाले इस्कान्देर र हाइपरसोनिक जिर्कोनजस्ता अत्याधुनिक क्षेप्यास्त्रसमेत प्रयोग गरिएको जनाएको छ।
किभका मेयर भिताली क्लिच्कोका अनुसार आक्रमणका कारण आवासीय भवन, सुपरमार्केट, छात्रावास तथा अन्य संरचनामा क्षति पुगेको छ। दुईवटा गोदाममा लागेको आगो नियन्त्रणमा लिन दमकलकर्मीहरू निरन्तर खटिएका छन्।
राष्ट्रपति जेलेन्स्कीले पछिल्लो एक सातामै रुसले युक्रेनमाथि करिब १,४५० आक्रमणकारी ड्रोन, १,६४० भन्दा बढी निर्देशित बम र ९९ वटा विभिन्न प्रकारका क्षेप्यास्त्र प्रयोग गरेको दाबी गरेका छन्।
रुसको यो आक्रमण युक्रेनले रुसको प्रमुख अनलाइन खुद्रा कम्पनी वाइल्डबेरीजका दुई गोदाममा ड्रोन आक्रमण गरेपछि भएको जवाफी कारबाहीका रूपमा हेरिएको छ। युद्ध थप तीव्र बन्दै जाँदा दुवै पक्षबीचको आक्रमण–प्रत्याक्रमण अझ उग्र बन्दै गएको छ।
किभमा रुसको भीषण मिसाइल वर्षा, युद्धकै सबैभन्दा ठूलो आक्रमण भएको युक्रेनको दाबी
Leave a Comment
Leave a Comment

