पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित बन्नु क्षेत्रमा भएको भीषण आतंकवादी हमलामा १५ जना प्रहरीको ज्यान गएको छ। घटनामा थप तीन जना घाइते भएका छन् भने उनीहरूको अवस्था खतरा बाहिर रहेको बताइएको छ।
बन्नु मेडिकल एन्ड टिचिङ इन्स्टिच्युटका प्रवक्ता नोमान खानका अनुसार मृत्यु हुने सबै प्रहरी कर्मचारी हुन्। घाइतेहरूलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ।
यसअघि बन्नु रेन्ज प्रहरी कार्यालयले जारी गरेको विवरणमा फतेह खेल प्रहरी चौकीको भग्नावशेषबाट १२ जनाको शव निकालिएको जानकारी दिएको थियो। साथै तीन जना कर्मचारीलाई जीवितै उद्धार गरिएको उल्लेख गरिएको थियो।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार विस्फोटक पदार्थले भरिएको गाडी प्रहरी चौकीमा ठोक्काएर विस्फोट गराइएको थियो। विस्फोटपछि सशस्त्र आक्रमणकारीहरू चौकीभित्र प्रवेश गरी प्रहरीमाथि गोली प्रहार गरेका थिए।
घटनापछि सुरक्षाकर्मीले क्षेत्रलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेका छन्। पाकिस्तानको खैबर पख्तुनख्वा क्षेत्रमा पछिल्लो समय सुरक्षा चुनौती र आतंकवादी गतिविधि बढ्दै गएको बताइएको छ।
पाकिस्तानको बन्नुमा प्रहरी चौकीमा आत्मघाती हमला, १५ प्रहरीको मृत्यु
Leave a Comment
Leave a Comment






