स्विट्जरल्यान्डको स्की रिसोर्टमा भीषण आगलागी नयाँ वर्षको उत्सव त्रासदीमा परिणत, ४० जनाको मृत्यु, ११५ घाइते

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, १८ पुस २०८२ (शुक्रबार) । नयाँ वर्षको स्वागत उत्सव चलिरहेका बेला स्विट्जरल्यान्डको एक चर्चित स्की रिसोर्टमा भीषण आगलागी हुँदा कम्तीमा ४० जनाको ज्यान गएको छ भने ११५ जना घाइते भएका छन्। घाइतेहरूमध्ये धेरैको अवस्था गम्भीर रहेको स्थानीय अधिकारीहरूले बताएका छन्।

घटना स्विट्जरल्यान्डको भालिस क्यान्टन अन्तर्गत पर्ने क्रान्स–मोन्टानास्थित ‘ली कन्स्टेलिसन’ नामक बारमा नयाँ वर्षको दिन, बिहीबार बिहान करिब १:३० बजे (स्थानीय समयअनुसार) भएको हो। नयाँ वर्षको पार्टीमा युवाहरूको ठूलो भीड रहेका बेला अचानक आगो फैलिएको बताइएको छ।

आगो नियन्त्रणमा लिन रातभर १३ वटा हेलिकप्टर, ४२ वटा एम्बुलेन्स तथा करिब १५० जना उद्धारकर्मी परिचालन गरिएको थियो। घटनास्थल पर्यटकीय क्षेत्र भएकाले उद्धार कार्य थप जटिल बनेको अधिकारीहरूको भनाइ छ।

घाइतेमध्ये ६० जनालाई भालिसको सियोन अस्पतालमा भर्ना गरिएको छ, जहाँ धेरैजना अत्यन्तै गम्भीर अवस्थामा रहेको क्षेत्रीय गभर्नरलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। अन्य घाइतेलाई लोजान, ज्युरिख र जेनेभाका विशेष बर्न्स युनिट भएका अस्पतालमा सारिएको छ।

लोजान युनिभर्सिटी अस्पतालमा २२ जना र ज्युरिख युनिभर्सिटी अस्पतालमा १२ जना घाइतेको उपचार भइरहेको छ। केही बिरामीको उपचार जेनेभा युनिभर्सिटी अस्पतालमा पनि जारी छ।

आगलागीमा विभिन्न देशका नागरिक प्रभावित भएका छन्। इटालीले आफ्ना १६ नागरिक सम्पर्कविहीन रहेको जनाएको छ भने १२ देखि १५ जनाले अस्पतालमा उपचार गराइरहेका छन्। फ्रान्सका आठ नागरिक बेपत्ता रहेको पुष्टि गरिएको छ र मृतकमध्ये फ्रान्सेली नागरिक पनि पर्न सक्ने अनुमान गरिएको छ।

अधिकारीहरूका अनुसार मृतक र घाइतेको पहिचान गर्न समय लाग्ने देखिन्छ। पीडित परिवारको सहजीकरणका लागि स्विस प्रशासनले हेल्पलाइन नम्बर +४१ ८४८ ११२ ११७ सञ्चालनमा ल्याएको छ।

आगो कसरी लाग्यो भन्ने विषयमा अनुसन्धान सुरु भइसकेको छ। चम्किने फ्लेयरसहितका स्याम्पेन बोतल वा साँघुरा सिँढीहरूले दुर्घटना निम्त्याएको हुनसक्ने अनुमानबारे अधिकारीहरूले अहिलेसम्म कुनै ठोस पुष्टि गरेका छैनन्।

राज्य काउन्सिलर स्टेफान गान्जरले नयाँ वर्षको पार्टीका कारण बारभित्र अत्यधिक भीड रहेको स्वीकार्दै घटनाले देशलाई गहिरो शोकमा डुबाएको बताए।

Leave a Comment