होर्मुजमा आक्रमण भए इरानका पूर्वाधार ध्वस्त पार्ने ट्रम्पको चेतावनी

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, साउन ७ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई लक्षित गर्दै कडा चेतावनी दिएका छन्। उनले स्ट्रेट अफ होर्मुज क्षेत्रमा कुनै पनि जहाजमाथि इरानी सेनाले मिसाइल, रकेट वा ड्रोनमार्फत आक्रमण गरे इरानका महत्त्वपूर्ण भौतिक पूर्वाधारहरूलाई निशाना बनाइने बताएका हुन्।
सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा सन्देश सार्वजनिक गर्दै ट्रम्पले तेहरान तथा वरपर रहेका पुल, विद्युत् उत्पादन केन्द्रलगायतका रणनीतिक संरचनामाथि आक्रमण हुन सक्ने संकेत गरेका छन्। उनले इरानको भूमिगत आणविक केन्द्र ‘पिक्याक्स माउन्टेन’ पनि सम्भावित लक्ष्य हुन सक्ने उल्लेख गरेका छन्।
यसबीच, पछिल्ला ११ दिनदेखि अमेरिका र इरानबीच सैन्य तनाव चर्किँदै गएको छ। इरानी सञ्चारमाध्यमका अनुसार तेहरान, ताब्रिज र बुशेहरलगायतका क्षेत्रमा लगातार विस्फोटका आवाज सुनिएका छन्। बुशेहरमा इरानको एकमात्र आणविक विद्युत् केन्द्र रहेको छ।
ट्रम्पको चेतावनीपछि इरानले पनि कडा प्रतिक्रिया दिएको छ। इरानका शीर्ष वार्ताकार मोहम्मद बागेर घालिबाफले आफ्नो देशको सुरक्षा जोखिममा परे क्षेत्रका कुनै पनि पूर्वाधार सुरक्षित नरहने बताएका छन्। उनले इरानले तेल निर्यात गर्न नपाए अन्य देशले पनि सहज रूपमा तेल बिक्री गर्न नसक्ने चेतावनी दिएका छन्।
अमेरिका–इरानबीच बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यसमेत उकालो लागेको छ। हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल ९४ अमेरिकी डलरसम्म पुगेको जनाइएको छ।

Leave a Comment