मधेसका मुख्यमन्त्री यादवविरुद्धको रिटमाथि सर्वोच्चमा आज पूर्ण सुनुवाइ

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

न्यायाधीश फुँयाल र पाण्डेयको इजलासमा तोकियो पेसी

११ मंसिर,काठमाडौ

प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिविरुद्ध दायर रिटमाथि आज सर्वोच्च अदालतमा पूर्ण सुनुवाइ हुँदैछ। प्रदेशसभाका सात दलले दायर गरेको रिटमा न्यायाधीश हरिप्रसाद फुँयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा सुनुवाइ निर्धारित गरिएको हो।

यसअघि सर्वोच्चले मंसिर २ गते अन्तरिम आदेश जारी गर्दै मुद्दाको अन्तिम निष्कर्ष नआएसम्म नीतिगत तथा दीर्घकालीन प्रभाव पार्ने कुनै निर्णय नगर्न निर्देशन दिएको थियो। तर आदेशकै बीच मुख्यमन्त्री यादवले हालै महत्वाकांक्षी योजना सार्वजनिक गरेका थिए। त्यसअघि तीन दिन अघिमात्र मन्त्रीहरुलाई मन्त्रालयको जिम्मेवारी पनि तोकेको अवस्थामा विपक्षी दलहरूले आदेश उल्लङ्घन भएको दाबी गर्दै आएका छन्।

कात्तिक २४ गते बिहानै बर्दिवासस्थित होटलमा हतार–हतार शपथ ग्रहण गराइएको घटनापछिका विवादले यादवको नियुक्ति निरन्तर प्रश्नचिह्नमा परेको छ। उनलाई होटलमै शपथ गराएकी तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई संघीय सरकारले बर्खास्त गरिसकेको छ। त्यस्तै, नियुक्ति प्रक्रियामा सहजता मिलाएको आरोप लागेको प्रदेशसभाका सभामुख रामचन्द्र मण्डल महाभियोगबाट पदमुक्त भइसकेका छन्।

कांग्रेस, जसपा, जनमत, माओवादी केन्द्र, लोसपा लगायत सात दलले यादवको नियुक्ति संविधानविपरीत भएको दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन्।

Leave a comment