काठमाडौँ । आइतबार, २५ माघ २०८२
नेपाली कांग्रेसले ‘फागुन २१ का लागि मेरो २१ दिन’ अभियान सञ्चालन गर्दै पार्टीका नेता तथा कार्यकर्तालाई आ–आफ्नो क्षेत्रमा परिचालन गर्ने निर्णय गरेको छ। तोकिएका जिम्मेवारी पूरा गरिसकेपछि सबै नेता–कार्यकर्तालाई आफ्नो क्षेत्रमा फर्केर सक्रिय हुन निर्देशन दिइएको छ।
आइतबार बिहान बसेको कांग्रेस कार्यसम्पादन समितिको भर्चुअल बैठकले ‘नेपाली कांग्रेस निर्वाचन परिचालन निर्देशिका’ अनुसार केन्द्र, प्रदेश, जिल्ला तथा क्षेत्रीय तहमा जिम्मेवारी पाएका नेताहरूले आफ्नो कार्य सम्पन्न गरी सम्बन्धित क्षेत्रमा खटिनुपर्ने निर्णय गरेको हो।
बैठकले ‘जसको पदीय जिम्मेवारी जहाँ, उसले खट्ने त्यहीँ’ भन्ने नीतिलाई कडाइका साथ कार्यान्वयन गर्ने स्पष्ट पारेको छ। यस अभियानअन्तर्गत पार्टीका सबै तहका नेता–कार्यकर्तालाई चुनावी तयारीमा जुट्न आह्वान गरिएको छ।
कांग्रेस नेतृत्वले फागुन २१ लाई लक्षित गर्दै २१ दिनसम्म निरन्तर जनसम्पर्क, संगठन सुदृढीकरण र चुनावी वातावरण निर्माणमा सक्रिय रहनुपर्ने जनाएको छ। अभियानले पार्टी संगठनलाई चलायमान बनाउने र चुनावी तयारीलाई तीव्रता दिने विश्वास कांग्रेसले लिएको छ।

