जनकपुरधाम, साउन १६ — सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर ज्यान गुमाएका गणेश यादवका परिवार र नेपाल सरकारबीच सात बुँदे सहमति भएको छ।
गृहमन्त्री सुदन गुरुङ शुक्रबार राति मृतक यादवको घर औरही गाउँपालिका–२, तुलसियाही पुगेर परिवारसँग वार्ता गरेका थिए। सोही वार्तापछि दुवै पक्षबीच सात बुँदे सहमति भएको हो।
सहमतिअनुसार सरकारले गणेश यादवलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने भएको छ। साथै, मृतकका परिवारलाई नेपाल सरकारका तर्फबाट १० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराइनेछ।
त्यसैगरी, परिवारका एक योग्य सदस्यलाई रोजगारीको अवसर प्रदान गरिने, मृतकका भाइबहिनीलाई निःशुल्क शिक्षा तथा उनका बुबा–आमाको सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था मिलाइने सहमतिमा उल्लेख गरिएको छ।
सहमतिमा गोलबजार घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्ने, छानबिन समितिको प्रतिवेदनका सुझाव तथा सिफारिस कार्यान्वयन गर्ने र गणेश यादवको स्मृतिमा स्मृति पार्क निर्माण गर्ने विषय पनि समावेश गरिएको छ।
यसैगरी, सहमतिअनुसार शुक्रबार नै गणेश यादवको दाहसंस्कार गरिने उल्लेख गरिएको छ।
सहमतिपत्रमा सरकारका तर्फबाट गृहमन्त्री सुदन गुरुङ र मृतकका तर्फबाट उनका बुबा रामवृक्ष यादवले हस्ताक्षर गरेका छन्।
गोलबजार गोलीकाण्ड : गणेश यादवका परिवार र सरकारबीच ७ बुँदे सहमति
Leave a Comment
Leave a Comment

