२७ असार, बारा : बाराको प्रसौनी गाउँपालिकाका कर्मचारीको भ्रष्टाचार काण्ड बाहिरीन थालेको छ।
प्रसौनी गाउँपालिकाका कर्मचारीहरु कमिशनको लतमा परेर नियम विपरीत कार्यालयको बजेट चलाउने गरेको आरोप लाग्न थालेको छ ।
कमिशनकै लोभमा प्रमुख प्रशासकीय अधिकृत र लेखापालले काम नै नभएको योजनाको भुक्तानी दिने गरेको पाईएको छ ।
प्रसौनी गाउँपालिकाका कर्मचारीहरु विरुद्ध थुप्रै उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको छ ।
लेखाप्रमुख प्रेमबाबु पटेल र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुनिल केशरीले कमिशन लिएर काम नै भएको एउटा विद्यालयमा १८ लाख रकम एकमुष्ट भुक्तानी गरेको पाईएको छ ।
आर्थिक बर्ष २०७८/०७९ मा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको १८ लाख रकम केशरी र पटेलले कमिशन लिएर प्रसौनी गाउँपालिका-५ स्थित कन्हैया प्राथमिक विद्यालयलाई भुक्तानी गरेर भ्रष्टाचार गरेको मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा चलिरहेको छ ।
हाल सो विद्यालय स्थानीय नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा गाभिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रतिनिधिले अनुगमन गरि कर्मचारीहरुसंग पटक पटक बयान समेत लिएका छन ।
प्रसौनी गाउँपलिकाका हाकिम सुमित सिंह, लेखाप्रमुख पटेल सहितका कर्मचारीहरु आयोगको हेटौंडा कार्यालयमा समेत पुगेर बयान दिएको स्रोतले दाबी गरेको छ ।
तर प्रमुख प्रशासकीय अधिकृत सिंहले भने आफुहरु अन्य मुद्दामा आयोगको कार्यालयमा गएको प्रतिक्रिया दिए ।

आयोगको निर्देशन पछि दुई पटक गरेर १८ लाख रुपैयाँ नेरामावी खातामा कर्मचारीहरुले जम्मा गरेका छन ।
कर्मचारीहरुले २०८१ बैशाख २७ गते र २०८१ जेठ ३० गते नेरामावी बेलहियाको खातामा १८ लाख जम्मा गरेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख सन्तोष रौनियारले जानकारी गराए । अहिले सो खाता रोक्का रहेको विद्यालयले जनाएको छ ।
लेखा प्रमुख पटेल जो सुकै हाकिम आएपनी कागज मिलाएर भ्रष्टाचार गराउन सिकाउने गरेको पालिका स्रोतको दाबी छ ।
लेखाप्रमुख पटेलले भने आफुलाई बदनाम गराउन आरोप लगाइएको दाबी गरे।
तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुनिल केशरी कमिशनकोलागि जे पनि काम गर्न पछि नपर्ने एकजना कर्मचारीले दाबी गरे ।
केशरी अहिले बारागढी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत छन । केशरी मन्त्रालयका केही उच्च तहका कर्मचारीलाई प्रभावमा पारेर पालिकाहरुमा सरुवा गराउने गरेका छ्न ।
केशरीले भने आफुले प्रसौनीमा भएको बेला एकमुष्ट विद्यालयको खातामा १८ लाख रकम भुक्तानी गरेको बताए । आफुले कमिशन नलिएको केशरीले दाबी गरे ।


