काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनामा मृत्यु भएका रवीन्द्रकुमार मेहताको परिवार र सरकारबीच सातबुँदे सहमति भएको छ।
सोमबार गृहमन्त्री सुधन गुरुङ र मृतक मेहताका अभिभावकबीच भएको छलफलपछि सहमति जुटेको हो। सहमतिअनुसार मेहतालाई सहिद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाइने भएको छ।
घटनाको निष्पक्ष तथा प्रभावकारी अनुसन्धान गरी दोषी देखिएकामाथि प्रचलित कानुनअनुसार तत्काल कारबाही प्रक्रिया अघि बढाउने सरकारको प्रतिबद्धता छ।
त्यस्तै, देवानगञ्ज–३ मा रहेको मदरसाको कानुनी हैसियतलगायत घटनासँग सम्बन्धित विषयमा आवश्यक छानबिन सुरु गर्ने सहमति भएको छ।
सरकारले मृतक परिवारका एक जना योग्य सदस्यलाई रोजगारी उपलब्ध गराउन आवश्यक पहल गर्ने भएको छ। घटनाको वास्तविकता अध्ययन गर्न गठित छानबिन समितिले बुझाउने प्रतिवेदनका सुझाव तथा सिफारिस कार्यान्वयनका लागि कानुनी प्रक्रिया अघि बढाउने पनि सहमतिमा उल्लेख छ।
यसैगरी, मृतक मेहताको शव नेपाली सेनाको हेलिकप्टरमार्फत सुनसरीको देवानगञ्ज गाउँपालिका–३ पुर्याई अन्त्येष्टिको व्यवस्था सरकारले गर्ने भएको छ।
घटनामा ज्यान गुमाएका तीन जनाको स्मृतिमा स्थानीय सरकारसँग समन्वय गरी चालु वर्षभित्रै उपयुक्त स्थानमा स्मृति पार्क निर्माणका लागि बजेट विनियोजन गर्ने सहमति पनि भएको छ।
यससँगै कप्तानगञ्ज घटनापछि पीडित परिवारले उठाउँदै आएका माग सम्बोधन गर्ने दिशामा सरकार र मृतक परिवारबीच औपचारिक सहमति भएको हो।
कप्तानगञ्ज घटनाका मृतक रवीन्द्र मेहताको परिवारसँग सरकारको सातबुँदे सहमति
Leave a Comment
Leave a Comment

