काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई केवल राजनीतिक व्यवस्था नभई राष्ट्र निर्माणको महान प्रेरणा र ऐतिहासिक जिम्मेवारीको रूपमा व्याख्या गरेका छन्।
१९औँ गणतन्त्र दिवसका अवसरमा शुक्रबार सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले गणतन्त्रले नेपाली जनतालाई राजनीतिक अधिकार, स्वतन्त्रता र साझा राष्ट्रिय पहिचान प्रदान गरेको बताए। उनले विविध भाषा, धर्म, संस्कृति र समुदायलाई एउटै राष्ट्रिय भावनामा बाँध्ने आधार नै गणतन्त्र भएको उल्लेख गरे।
‘गणतन्त्रले हामीलाई सम्पूर्ण राजनीतिक अधिकारको ग्यारेन्टी दिएको छ। यसले समुन्नत भविष्यका लागि एकतावद्ध भएर अगाडि बढ्ने अवसर दिएको छ,’ राष्ट्रपति पौडेलले भने।
उनले राजनीतिक परिवर्तन मात्र पर्याप्त नहुने भन्दै अब राज्य सञ्चालनको शैली, राजनीतिक संस्कार र नेतृत्वको आचरणमा समेत परिवर्तन आवश्यक रहेको धारणा राखे। ढिलासुस्ती, अनियमितता र वेथितिलाई मुलुकको सबैभन्दा ठूलो चुनौतीका रूपमा चित्रण गर्दै उनले सुशासन र परिणाममुखी प्रशासनबिना जनताको अपेक्षा पूरा हुन नसक्ने बताए।
राष्ट्रपतिले जनताले अहिले सुशासनसहितको समृद्धि खोजिरहेको उल्लेख गर्दै कृषि, पर्यटन, ऊर्जा, उद्योग र सेवा क्षेत्रको अधिकतम उपयोगमार्फत आर्थिक पुनरुत्थान गर्नुपर्नेमा जोड दिए। उनले सरकारका शासकीय सुधार, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता तथा सार्वजनिक सेवा सुधारका योजनाले जनतामा नयाँ आशा जगाउने विश्वास व्यक्त गरे।
उनले गणतन्त्रको सार्थकता नागरिकको जीवनस्तरसँग जोडिनुपर्ने उल्लेख गर्दै राजनीतिक दल, सरकार र नेतृत्व अझ जिम्मेवार, विनम्र र जनउत्तरदायी बन्नुपर्ने बताए। संविधानले सुनिश्चित गरेका अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्दै सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्नु अहिलेको मुख्य दायित्व भएको उनको भनाइ थियो।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका अधिकारी तथा कूटनीतिक नियोगका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
गणतन्त्र केवल व्यवस्था होइन, जिम्मेवारी पनि हो : राष्ट्रपति पौडेल
Leave a Comment
Leave a Comment






