काठमाडौं, पुस २४ — काठमाडौंको जहरसिंहपौवा–साँखु सडकखण्डमा भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। दुर्घटनामा घाइते भएका ३३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
बा ४ ख ८७८८ नम्बरको बस बुधबार साँझ दुर्घटनामा पर्दा घटनास्थलमै तीन महिला र दुई पुरुषको मृत्यु भएको थियो। घाइतेमध्ये गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी निवासी अन्दाजी ५५/६० वर्षीय अर्जुन लामिछानेको उपचारका क्रममा गएराति साढे १२ बजे मृत्यु भएपछि मृतकको संख्या पाँच पुगेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी पवन भट्टराईले जानकारी दिए।
यसअघि दुर्घटनामा बाँकेको कोहलपुर नगरपालिका–५ घर भई हाल बुढानीलकण्ठ बस्ने ४९ वर्षीया कामना शर्मा, ताप्लेजुङ पाथीभरा–५ घर भई बुढानीलकण्ठ–७ बस्ने ५१ वर्षीया इन्दिरा लिम्बु, सिराहा घर भई हाल पेप्सीकोला बस्ने ५५ वर्षीया शान्ति गुप्ता र पाँचथर घर भई हाल गोठाटार बस्ने ६५ वर्षीय देवेन्द्र लिम्बुको मृत्यु भएको थियो।
प्रहरीका अनुसार उक्त बस नेचर हाउस एन्ड हर्ब इन्टरनेशनल कम्पनीका कर्मचारीहरू पिकनिक सकेर काठमाडौं फर्किने क्रममा दुर्घटनामा परेको हो। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको र घाइतेहरूको अवस्था निगरानीमा राखिएको प्रहरीले जनाएको छ।







