अमेरिकासँग वार्ताका लागि इरानी प्रतिनिधिमण्डल इस्लामाबादमा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

शनिबार, चैत २८, २०८२-काठमाडौंः अमेरिकासँग हुने शान्ति वार्ताका लागि इरानको प्रतिनिधिमण्डल पाकिस्तानको इस्लामाबाद पुगेको छ।

इरानको सरकारी मिडियाका अनुसार उक्त प्रतिनिधिमण्डल अमेरिकासँग वार्ता गर्न इस्लामाबाद पुगेको हो। पाकिस्तानको विदेश मन्त्रालयले पनि विज्ञप्ति जारी गर्दै इरानी प्रतिनिधिमण्डलको आगमन पुष्टि गरेको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार नूर खान विमानस्थलमा इरानी प्रतिनिधिमण्डलको स्वागत गरिएको थियो। पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक डारले उनीहरूको स्वागत गरेका थिए।

उक्त अवसरमा राष्ट्रियसभाका अध्यक्ष सरदार अयाज सादिक, सेना प्रमुख फील्ड मार्शल सैयद आसिम मुनीर तथा गृहमन्त्री मोहसिन रजा नक्वी पनि उपस्थित थिए।

इरानी प्रतिनिधिमण्डलको नेतृत्व इरानी संसदका सभामुख मोहम्मद बाकर गालिबाफले गरिरहेका छन्। प्रतिनिधिमण्डलमा विदेशमन्त्री अब्बास अराघची, रक्षा परिषदका सचिव अली अकबर अहमदियान, केन्द्रीय बैंकका गभर्नर अब्दुलनासिर हेम्मती लगायतका उच्च अधिकारी सहभागी रहेका छन्।

Leave a Comment