इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीका छाल रेकर्ड

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं । पूर्वी इन्डोनेसियाको समुद्री क्षेत्रमा शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि केही तटीय क्षेत्रमा एक मिटरभन्दा कम उचाइका सुनामीका छालसमेत रेकर्ड भएका छन्।
इन्डोनेसियाको भूभौतिक निकाय बीएमकेजीका अनुसार स्थानीय समयअनुसार बिहान ४ः५८ बजे भूकम्प गएको हो। करिब १५ किलोमिटर गहिराइमा गएको भूकम्पपछि लगातार परकम्पहरू समेत महसुस भएका थिए।
भूकम्पको धक्का नगेकेओ, बिमा लगायतका क्षेत्रमा करिब एक मिनेटसम्म महसुस गरिएको बताइएको छ। भूकम्पपछि स्थानीय बासिन्दा घरबाट बाहिर निस्किएर सुरक्षित स्थानतर्फ लागेका थिए।
राष्ट्रिय विपद् न्यूनीकरण निकायका प्रवक्ता डोदी युलेओभाका अनुसार प्रारम्भिक विवरणमा भूकम्पबाट ठूलो क्षति वा मानवीय हताहती भएको सूचना प्राप्त भएको छैन।
भूकम्पपछि सम्भावित सुनामीको जोखिमलाई ध्यानमा राख्दै चेतावनी जारी गरिएको थियो। बीएमकेजीका अनुसार विभिन्न क्षेत्रमा एक मिटरभन्दा कम उचाइका सुनामीका छाल देखिएका थिए।
यता, अस्ट्रेलियाको सुनामी चेतावनी केन्द्रले भने उक्त भूकम्पका कारण अस्ट्रेलियाको मुख्य भूभाग, द्वीप वा अन्य भूभागमा सुनामीको खतरा नरहेको जनाएको छ।
इन्डोनेसिया विश्वकै उच्च भूकम्पीय जोखिम भएका मुलुकमध्ये एक हो। प्रशान्त महासागर वरिपरि फैलिएको सक्रिय भूकम्पीय क्षेत्र ‘रिङ अफ फायर’मा पर्ने भएकाले यहाँ बारम्बार शक्तिशाली भूकम्प जाने गरेका छन्।

Leave a Comment