चैत २, २०८२-काठमाडौं । ड्रोन आक्रमणपछि संयुक्त अरब इमिरेट्सको दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ। यात्रु र कर्मचारीको सुरक्षालाई ध्यानमा राख्दै उडानहरू केही समयका लागि स्थगित गरिएको अधिकारीहरूले बताएका छन्।
दुबई मिडिया अफिसका अनुसार सोमबार विमानस्थल नजिकै भएको ड्रोन आक्रमणका कारण इन्धन ट्याङ्कीमा आगलागी भएको थियो। आगो नियन्त्रणका लागि सुरक्षाकर्मीहरू खटिएको जनाइएको छ।
अधिकारीहरूले सावधानी अपनाउँदै विमानस्थलबाट हुने सबै उडान अस्थायी रूपमा रोकेको बताएका छन्। स्थिति सामान्य भएपछि मात्र उडान सेवा पुनः सञ्चालन गरिने जनाइएको छ।
फेब्रुअरीको अन्त्यतिर अमेरिका, इजरायल र इरानबीच युद्ध सुरु भएपछि खाडी क्षेत्रमा मिसाइल र ड्रोन आक्रमणको जोखिम बढ्दै गएको छ। त्यसयता खाडीका अरब मुलुकहरूले दुई हजारभन्दा बढी मिसाइल तथा ड्रोन आक्रमणको सामना गरिसकेको बताइएको छ।
यस्ता आक्रमणमा अमेरिकी कूटनीतिक नियोग, सैन्य अड्डा, तेल पूर्वाधार, बन्दरगाह, विमानस्थल तथा अन्य महत्वपूर्ण संरचनाहरू लक्ष्य बनाइएका छन्।
दुबई अन्तर्राष्ट्रिय विमानस्थल विश्वकै सबैभन्दा व्यस्त हवाई अड्डामध्ये एक मानिन्छ। सन् २०२५ मा मात्रै यहाँबाट झण्डै नौ करोड यात्रुले यात्रा गरेका थिए।

