अफगानिस्तानको नुरिस्तानमा भीषण बाढी: २३ जनाको मृत्यु, सयभन्दा बढी अझै बेपत्ता

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, साउन ६ — अफगानिस्तानको पूर्वी नुरिस्तान प्रान्तमा आएको भीषण बाढीले ठूलो मानवीय क्षति पुर्‍याएको छ। प्रारम्भिक विवरणअनुसार बाढीका कारण २३ जनाको मृत्यु भएको छ भने एक सयभन्दा बढी व्यक्ति अझै बेपत्ता रहेका छन्। साथै, कम्तीमा ८० जना घाइते भएका छन्।
अफगानिस्तान राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार सोमबार आएको बाढीपछि उद्धार तथा राहत टोलीहरू प्रभावित क्षेत्रमा परिचालन गरिएका छन्। भग्नावशेषमा पुरिएका तथा सम्पर्कविहीन भएका व्यक्तिहरूको खोजी कार्य तीव्र रूपमा जारी रहेको बताइएको छ।
बाढीले प्रान्तीय राजधानी पारुनसहित विभिन्न बस्तीमा व्यापक क्षति पुर्‍याएको छ। दर्जनौं घर, सरकारी तथा निजी भवनहरू ढलेका छन् भने सडक र पूर्वाधारमा पनि क्षति पुगेको छ, जसका कारण उद्धार कार्यमा चुनौती थपिएको छ।
अधिकारीहरूले आगामी केही दिन देशका विभिन्न क्षेत्रमा भारी वर्षा, चट्याङ, हुरीबतास तथा थप बाढीको जोखिम कायम रहेको चेतावनी दिएका छन्। मौसम विभागले ३४ मध्ये १० प्रान्तमा उच्च सतर्कता (अलर्ट) जारी गर्दै नदी किनार तथा जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा बस्न सर्वसाधारणलाई आग्रह गरेको छ।
अफगानिस्तानमा पछिल्ला वर्षहरूमा प्राकृतिक विपद्का घटना बढ्दै गएका छन्। गत वर्षको विनाशकारी बाढीमा ३०० भन्दा बढी मानिसले ज्यान गुमाएका थिए भने यस वर्ष मात्रै बाढी र पहिरोसँग सम्बन्धित घटनामा ११० भन्दा बढीको मृत्यु भइसकेको छ।

Leave a Comment