२६ चैत २०८२, बिहीबार-अमेरिका र इरानबीच शुक्रबार पाकिस्तानको राजधानी इस्लामावादमा उच्चस्तरीय वार्ता हुने भएको छ।
पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफले पश्चिम एसियामा युद्धविराम घोषणा भएपछि अमेरिका र इरानका प्रतिनिधिमण्डललाई इस्लामावादमा स्वागत गरिने बताएका छन्।
हालै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सम्बन्ध सुदृढ बनाउँदै आएको पाकिस्तानले छिमेकी इरानप्रति संवेदनशीलता देखाउँदै तेहरान र वासिङ्टनबीच मध्यस्थकर्ताको भूमिका खेलेको छ।
प्रधानमन्त्री सरिफले इस्लामावादमा हुने वार्ताले दिगो शान्ति स्थापना गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
तेहरान र वासिङ्टनबीच राष्ट्रपति ट्रम्पले दिएको समयसीमा समाप्त हुनुभन्दा केही समयअघि दुई साताको युद्धविराममा सहमति भएको थियो।
पाकिस्तानको मध्यस्थतामा अमेरिका, इजरायल र इरानबीच जारी ४० दिने युद्ध रोकिएको बताइएको छ। इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गरेपछि युद्ध सुरु भएको थियो।
यस क्रममा इजरायल र अमेरिकाले फेब्रुअरी २८ मा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीसहित ५० भन्दा बढी उच्च अधिकारीको हत्या गरेको उल्लेख छ। त्यसपछि इरानले खाडी राष्ट्रहरू, अमेरिकी सैन्य आधार र इजरायलमाथि जवाफी आक्रमण गरेको थियो।

