काठमाडौं, १३ चैत २०८२ — काठमाडौं महानगरपालिकामा शिक्षा सुधारको जिम्मेवारी सम्हालेका सस्मित पोखरेल अब संघीय सरकारमा शिक्षा, विज्ञान तथा प्रविधि तथा युवा तथा खेलकुद मन्त्री बनेका छन्। मन्त्रिपरिषद्को सबैभन्दा कान्छा सदस्यका रूपमा उनी सिंहदरबार प्रवेश गरेका हुन्।
२०५२ साल फागुन १ गते काठमाडौंमा जन्मिएका पोखरेल आगामी फागुनमा ३० वर्ष पुग्दैछन्। यसपटकको जन्मदिन उनले मन्त्रीका रूपमा सरकारी निवासमै मनाउने भएका छन्। काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित हुँदै उनी संघीय सरकारमा पुगेका हुन्।
पोखरेलको प्रारम्भिक तथा उच्च शिक्षा अमेरिकामा भएको हो। २०७२ सालको भूकम्पपछि उनी राहत संकलन र पुनर्निर्माणमा सक्रिय भए, जसले उनलाई नेपाल फर्किन प्रेरित गर्यो। नेपाल आएपछि उनले परम्परागत राजनीतिक दलभन्दा वैकल्पिक राजनीतिलाई रोज्दै विवेकशील अभियानमा आवद्धता जनाए। यही क्रममा उनको बालेन्द्र शाहसँग सहकार्य सुरु भएको थियो।
काठमाडौं विश्वविद्यालयबाट कानुनमा स्नातक गरेका पोखरेल हाल त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर अध्ययनरत छन्। २०७९ को स्थानीय तह निर्वाचनमा बालेन्द्र शाहलाई काठमाडौं महानगरको मेयर बनाउन उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
त्यसपछि उनी महानगरपालिकामा शिक्षा क्षेत्र हेर्ने विज्ञ सल्लाहकार नियुक्त भए। सो क्रममा उनले छात्रवृत्ति वितरणलाई पारदर्शी बनाउने, विद्यालय सुधार तथा प्रविधिमैत्री शिक्षालाई अघि बढाउने काम गरेका थिए। उनको नेतृत्वमा हजारौँ विद्यार्थीले छात्रवृत्ति पाएका थिए भने सामुदायिक विद्यालयको सुधारमा पनि उल्लेखनीय प्रगति भएको बताइन्छ।
अब मन्त्रीका रूपमा उनले देशभरको शिक्षा प्रणाली सुधार, युवा रोजगारी प्रवर्द्धन र प्रविधिको विकासमा नीतिगत परिवर्तन ल्याउने चुनौती सामना गर्नुपर्नेछ। महानगरमा देखाएको कार्यक्षमता अब राष्ट्रिय स्तरमा कति प्रभावकारी हुन्छ भन्ने विषयमा चासो बढेको छ।

