कोलकाता । भारतको पश्चिम बंगालस्थित कोलकाताको नयाँ बजार क्षेत्रमा रहेको एक होटलमा बुधबार बिहान भएको भीषण आगलागीमा एक बालकसहित कम्तीमा नौ जनाको मृत्यु भएको छ।
प्रहरी र उद्धार टोलीका अनुसार आगलागीपछि होटलभित्र धुवाँ भरिँदा निसासिएर उनीहरूको मृत्यु भएको प्रारम्भिक जानकारी छ। घटनामा अन्य छ जना गम्भीर घाइते भएका छन्। उनीहरूको एसएसकेएम मेडिकल कलेजमा उपचार भइरहेको छ।
बुधबार बिहान करिब २ बजे होटलको तेस्रो तलाबाट आगो सुरु भएको थियो। केही समयमै आगो नजिकका भवनतर्फ समेत फैलिएको बताइएको छ।
घटनाको सूचना पाएलगत्तै नयाँ बजार प्रहरी चौकीको टोली र दमकल घटनास्थल पुगेका थिए। होटलभित्र फसेका मानिसलाई बाहिर निकाल्न तत्काल उद्धार अभियान सञ्चालन गरिएको थियो।
समाचार एजेन्सी एएनआईका अनुसार मृतकमध्ये उपचारका लागि कोलकाता आएका केही बंगलादेशी नागरिक पनि हुन सक्ने बताइएको छ। तर प्रहरीले मृतकको पहिचानबारे औपचारिक पुष्टि गरिसकेको छैन।
अग्नि नियन्त्रक अधिकारीले प्रारम्भिक अनुसन्धानमा विद्युत् सर्ट सर्किटका कारण आगलागी भएको हुन सक्ने आशंका गरेका छन्। यद्यपि, घटनाको वास्तविक कारण विस्तृत अनुसन्धानपछि मात्र खुल्ने बताइएको छ।
घटनापछि प्रहरीले होटलका प्रबन्धकलाई नियन्त्रणमा लिएर सोधपुछ तथा अनुसन्धान अघि बढाएको छ।
यसैबीच, पश्चिम बंगालकै वीरभूम जिल्लाको तारापीठमा सोमबार भएको होटल आगलागीमा पनि नौ जनाको मृत्यु भएको थियो।
कोलकाताको होटलमा मध्यराति आगो, एक बालकसहित ९ जनाको मृत्यु
Leave a Comment
Leave a Comment

