मोदीको ‘सप्तधारा’ : विकसित भारतका लागि सात शक्तिको नयाँ खाका

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 4 मिनेट

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ८०औँ स्वतन्त्रता दिवसका अवसरमा लालकिल्लाबाट सरकारको नयाँ दृष्टिकोणका रूपमा ‘शक्तिको सप्तधारा’ सार्वजनिक गरेका छन्।

उनले आगामी ५ देखि ७ वर्षमा भारतलाई नयाँ गति र उचाइमा पुर्‍याउने लक्ष्यसहित सात क्षेत्रमा विशेष जोड दिने घोषणा गरेका हुन्।
लालकिल्लाबाट लगातार १३औँ पटक राष्ट्रिय झण्डा फहराउँदै मोदीले करिब सवा घण्टा लामो सम्बोधन गरे। सम्बोधनका क्रममा उनले उत्पादन, कृषि, प्रविधि, पूर्वाधार, रक्षा, हरित अर्थतन्त्र र भारतको सांस्कृतिक प्रभावलाई देशको विकासका प्रमुख आधारका रूपमा प्रस्तुत गरे।
के हुन् ‘सप्तधारा’का सात शक्ति?
मोदीले ‘विकसित भारत’ र ‘आत्मनिर्भर भारत’ निर्माणका लागि आवश्यक सात शक्तिलाई ‘सप्तधारा’ नाम दिएका छन्।
१. उत्पादन शक्ति:
भारतलाई डिजाइनदेखि उत्पादनसम्म विश्वव्यापी आपूर्ति शृंखलाको भरपर्दो केन्द्र बनाउने मोदीको लक्ष्य छ। मूल्य, गुणस्तर र उत्पादन क्षमतामा विश्वस्तरीय मापदण्ड कायम गर्ने उनले बताए।
२. कृषि तथा खाद्य शक्ति:
कृषि र खाद्य उत्पादनलाई दोस्रो आधारका रूपमा अघि सार्दै मोदीले विश्व बजारमा भारतको पहुँच विस्तार भइरहेको बताए। स्वतन्त्र व्यापार सम्झौताबाट भारतीय उत्पादनले ठूलो बजार पाउने उनको भनाइ छ।
३. प्रविधि तथा नवप्रवर्तन शक्ति:
कृत्रिम बुद्धिमत्ता (एआई), अन्तरिक्ष प्रविधि र डेटा सेन्टरजस्ता क्षेत्रमा भारतलाई अग्रणी बनाउने लक्ष्य राखिएको छ। प्रविधि र नवप्रवर्तनलाई आर्थिक विकासको महत्वपूर्ण आधारका रूपमा मोदीले प्रस्तुत गरे।
४. गतिशक्ति:
आधुनिक पूर्वाधार निर्माणलाई ‘गतिशक्ति’ अन्तर्गत राखिएको छ। उच्च गतिको रेलमार्फत सहर जोड्ने, आधुनिक राजमार्ग निर्माण गर्ने तथा बन्दरगाहको विस्तार गर्ने योजनालाई यसमा समेटिएको छ।
५. रक्षा शक्ति:
रक्षा सामग्रीको उत्पादन बढाउँदै भारतलाई यस क्षेत्रमा आत्मनिर्भर बनाउने लक्ष्य छ। मोदीले पछिल्लो समय रक्षा उत्पादनमा भारतले उल्लेख्य प्रगति गरेको दाबी गरे।
६. हरित तथा नीलो शक्ति:
हरित हाइड्रोजन, नवीकरणीय ऊर्जा, ऊर्जा भण्डारण, हरित यातायात र वातावरणमैत्री उत्पादनमा विश्वस्तरीय क्षमता विकास गर्ने योजना अघि सारिएको छ। माछापालन तथा तटीय पर्यटनलाई समेत यसैअन्तर्गत प्रवर्द्धन गरिने मोदीले बताए।
७. भारतको सफ्ट पावर:
भारतको संस्कृति, हस्तकला, चलचित्र, एनिमेसन, भीएफएक्स, गेमिङ तथा डिजिटल सामग्रीलाई विश्वव्यापी प्रभाव विस्तार गर्ने माध्यमका रूपमा मोदीले प्रस्तुत गरे। भारतको सिर्जनात्मक क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने उनको जोड थियो।
युवाका लागि निःशुल्क अनलाइन कोचिङ
मोदीले प्रतियोगितात्मक परीक्षाको तयारी गर्ने युवाका लागि निःशुल्क अनलाइन कोचिङको व्यवस्था गर्ने घोषणा पनि गरेका छन्।
परिवारमाथि आर्थिक बोझ नपरोस् भन्ने उद्देश्यले डिजिटल सार्वजनिक पूर्वाधार, दक्ष शिक्षक र प्रतिभालाई जोडेर देशव्यापी निःशुल्क कोचिङ सञ्जाल निर्माण गरिने उनले बताए।
‘दिमागी नक्सलवादी’प्रति मोदीको चेतावनी
नक्सलवाद र माओवादले युवाको भविष्यमा असर पारेको दाबी गर्दै मोदीले सशस्त्र नक्सलवादविरुद्ध भारतले सफलता हासिल गरेको बताए।
तर उनले हतियार बोकेका नक्सलवादीपछि अब ‘दिमागी नक्सलवादी’ चुनौतीका रूपमा रहेको नयाँ शब्दावली प्रयोग गरे। हिंसा र अराजकतालाई प्रोत्साहन गर्ने तथा युवालाई गलत दिशातर्फ लैजान खोज्ने त्यस्ता व्यक्तिलाई पहिचान गरी समाजबाट अलग गर्नुपर्ने उनको भनाइ थियो।
मोदीले यसअघि पनि ‘अर्बन नक्सल’ र ‘खान मार्केट ग्याङ’जस्ता शब्द प्रयोग गर्दै आएका छन्।
२०३६ को ओलम्पिकका लागि भारतको दाबेदारी
भारतले सन् २०३६ को ओलम्पिक खेलकुद गुजरातमा आयोजना गर्ने लक्ष्य राखेको छ। मोदीले भारत उक्त आयोजनाका लागि बलियो दाबेदारका रूपमा अघि बढिरहेको बताए।
त्यसैगरी सन् २०३० को कमनवेल्थ गेम्स आयोजना गर्ने तयारी पनि भारतले गरिरहेको उनले जानकारी दिए।
ओलम्पिकमा भारतको सहभागिता अझ विस्तार गर्न ५ देखि १५ वर्ष उमेर समूहका बालबालिकामा प्रतिभा खोजी अभियान सञ्चालन गर्ने योजना पनि उनले सुनाए। कम सहभागिता भएका खेलमा नयाँ प्रतिभा पहिचान गरी विशेष प्रशिक्षण दिने सरकारको तयारी छ।

Leave a Comment