बारा, भदौ ३ — साउन ३१ गतेदेखि हराइरहेकी जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगर टोलकी चार वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या गरिएको पुष्टि भएको छ।
बालिकाको शव कलैया प्रादेशिक अस्पतालमा परीक्षण गर्दा बलात्कारपछि हत्या गरिएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुवँरले बताए।
प्रहरी उपरीक्षक कुवँरका अनुसार घटनामा संलग्न भएको आरोपमा प्रोग्रेस चौधरी र सुमन थापालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा बालिकालाई चकलेट खुवाएर फकाई घरबाट नजिकै रहेको सुनसान घरमा लगिएको र त्यहीँ बलात्कारपछि हत्या गरिएको खुलेको प्रहरीले जनाएको छ।
साउन ३१ गते घरबाट हराएकी बालिकाको शव तीन दिनपछि मंगलबार साँझ जीतपुरसिमरा–१ मै रहेको एक सुनसान घरबाट फेला परेको थियो। सुनसान घरबाट दुर्गन्ध आएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
बालिका स्थानीय सरस्वती प्राथमिक विद्यालयको बाल विकास कक्षामा अध्ययनरत थिइन्।
बालिका हराएपछि परिवार, स्थानीय बासिन्दा र प्रहरीले खोजी तीव्र बनाएका थिए। खोजीका क्रममा तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको थियो।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुवँर नेतृत्वको टोली पुगेको थियो। घटनाको थप अनुसन्धानका लागि संघीय प्रहरी कार्यालय वीरगन्ज र प्रदेश प्रहरी कार्यालयको टोलीसमेत परिचालन गरिएको प्रहरी उपरीक्षक कुवँरले बताए।
घटना बारे जानकारी दिन प्रहरीले अहिले तीन बजे पत्रकार सम्मेलन गर्ने जनाएको छ।

