२६ असार, काठमाडौं : मधेश प्रदेशका पूर्वमन्त्री विजय कुमार यादवलाई भ्रष्टाचारको मुद्दामा विशेष अदालतले ९ वर्ष १ महिना कैद सजायको फैसला गरेको छ ।
मधेश प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका तत्कालीन मन्त्री यादवले विशिष्ट पदमा रहेर भ्रष्टाचार गरेको भन्दै उनलाई ९ वर्ष १ महिना कैदको फैसला सुनाइएको छ । उनले पूर्वप्रधानमन्त्री झलनाथ खनालको नाममा स्थापित झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानका नाममा भ्रष्टाचार गरेको पुष्टि भएको छ ।
विशेषले यस भ्रष्टाचार कार्यमा संलग्न अन्य ४ जनालाई पनि ८ वर्षको दरले कैद फैसला गरेको छ । यादव सहित झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानका अध्यक्ष रेवती प्रसाद पन्त, महासचिव नवराज भण्डारी, कोषाध्यक्ष निरज भण्डारी र सदस्य देवेन्द्र रायलाई ८ वर्षका दरले कैद तोकेको हो ।
तर यादवले विशिष्ट पदमै रहेर भ्रष्टाचार गरेको कारण थप एक वर्ष एक महिनाको कैद सजाय ठहर भएको हो ।
विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार, उनीहरुबाट २ करोड ३५ लाखका दरले विगो असुल्ने र ३ करोड ५९ लाख ६६ हजार रुपैयाँका दरले जरिवाना तोक्ने फैसलासमेत भएको छ ।
विशेष अदालतका अध्यक्ष टेकबहादुर कुँवर र सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको नामबाट समेत भ्रष्टाचार भएको ठहर सहित सर्लाही लालबन्दीमा रहेको जग्गा र सवारीसाधन जफत गर्न आदेश दिएको छ ।