कात्तिक २७, काठमाडौं । नवनियुक्त नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले औपचारिक रूपमा दर्ज्यानी चिह्न लगाएका छन्।
गृह मन्त्रालयमा आयोजित समारोहमा गृह सचिव रामेश्वर दंगालले कार्कीलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न लगाइदिएका हुन्। कात्तिक २५ गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई नेपाल प्रहरीको सर्वोच्च पदमा नियुक्त गरेको थियो।
अघिल्ला आईजीपी चन्द्रकुवेर खापुङ ३० वर्षे सेवा अवधि पूरा गरी कात्तिक २६ गते मध्यरातदेखि अनिवार्य अवकाशमा गएपछि नेपाल प्रहरीको नेतृत्व कार्कीले सम्हालेका हुन्।
कार्कीले यसअघि उपत्यका प्रहरी कार्यालयको प्रमुखको रूपमा कमाण्ड सम्हालेका थिए। २४ भदौमा भएको जेनजी आन्दोलनका बेला उनले उपत्यकाको सुरक्षा नेतृत्व गरेका थिए। त्यसअघि उनी प्रहरी प्रधान कार्यालयस्थित मानव स्रोत साधन विभागका प्रमुखका रूपमा कार्यरत थिए।
डीआईजी हुँदा उनले लुम्बिनी प्रदेशको कमाण्ड सम्हालेका थिए भने एसएसपीको जिम्मेवारीमा काठमाडौं जिल्ला प्रहरी प्रमुखका रूपमा भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा समेत संलग्न भएका थिए।
फिल्डदेखि प्रहरी प्रधान कार्यालय र आईजीपी सचिवालयसम्म काम गरेको अनुभव रहेका कार्की इमान्दार र अनुशासित अधिकारीका रूपमा चिनिन्छन्। कुनै ठूलो आर्थिक विवादमा नपरेका उनी विभिन्न अन्तर्राष्ट्रिय तालिम प्राप्त गरेका छन् र नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता समेत रहिसकेका छन्।



Leave a Reply