कलैया । बारा जिल्लामा भएको मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको मृत्यु भएको छ।
कलैया उपमहानगरपालिका–१४ लक्ष्मिनिया चोकमा बिहीबार राति मोटरसाइकल दुर्घटना हुँदा ३३ वर्षीय पाण्डे गम्भीर घाइते भएका थिए। बघवनबाट कलैयातर्फ आउँदै गरेको मधेस प्रदेश ०३–०२८ प ७१९६ नम्बरको मोटरसाइकल राति करिब १० बजे आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
दुर्घटनामा घाइते पाण्डेलाई तत्काल उद्धार गरी प्रादेशिक अस्पताल कलैया लगिएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि वीरगन्जस्थित बयोधा अस्पताल पठाइएको थियो।
बयोधा अस्पताल पुर्याइएका पाण्डेलाई चिकित्सकले राति १०ः५० बजे मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए।
पाण्डेको शव बयोधा अस्पतालमै राखिएको छ। दुर्घटनामा परेको मोटरसाइकललाई भने अस्थायी प्रहरी पोस्ट बसपार्कले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
राजनीतिमा लामो समयदेखि सक्रिय पाण्डे यसअघि जनता समाजवादी पार्टी नेपाल निकट समाजवादी युवा संघमा आबद्ध थिए। उनी बारा क्षेत्र नम्बर ३(ख) का पूर्वप्रदेशसभा सदस्य पारसप्रसाद साहका स्वकीय सचिवसमेत रहेका थिए।
पछिल्लो समय पाण्डे जनमत पार्टीको केन्द्रीय सदस्यका रूपमा राजनीतिक गतिविधिमा सक्रिय थिए।
मोटरसाइकल दुर्घटनामा जनमतका केन्द्रीय सदस्य सुजित पाण्डेको मृत्यु
Leave a Comment
Leave a Comment

