बाढीपीडितको राहतका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत र उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गर्ने भएका छन्।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।
मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यको भदौ महिनाको एक महिनाको तलब तथा पारिश्रमिक कोषमा जम्मा गरिनेछ।
नेपाल–चीन सीमाक्षेत्र तथा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि सरकारले राहत, उद्धार तथा पुनःस्थापनाका लागि थप स्रोत परिचालन गरिरहेको छ।
मन्त्रिपरिषद्को निर्णयमा भदौ १० गतेको मितिबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सबै सदस्यको एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गर्ने उल्लेख छ।
सरकारले बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारलाई प्राथमिकता दिँदै प्रभावित परिवारलाई राहत उपलब्ध गराउने र क्षतिग्रस्त पूर्वाधार पुनःनिर्माणको काम अघि बढाउने जनाएको छ।

Leave a Comment