विद्यार्थीको अनुपातमा शिक्षकको मागगर्दै विद्यार्थीहरु प्रदर्शनमा

बिश्वखबर
पढ्न लाग्ने समय : 2 मिनेट

२ असोज, वीरगन्ज : आम जनता पार्टी (आजपा) निकटको आम विधार्थी मोर्चाले विधार्थीको अनुपातमा शिक्षकको माग गर्दै आज प्रदर्शन गरेको छ ।

मधेसमा विधार्थीको अनुपातमा शिक्षक नभएको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।

आज राष्ट्रिय शिक्षा दिवस सरकारले मनाउँदै गर्दा मधेसका विधार्थीहरु शिक्षकको माग गर्दै सडक आन्दोलनमा उत्रिनु परेको छ ।

वीरगंज र गौरमा आम विधार्थी मोर्चाले आज प्रदर्शन गरेको छ ।

आम विधार्थी मोर्चाका इन्चार्ज उमेश कुशवाहाको नेतृत्वमा वीरगंजमा र विधार्थी मोर्चाका केन्द्रीय अध्यक्ष विवेक साहको नेतृत्वमा गौरमा प्रदर्शन भएको हो ।

प्रदर्शनमा विधार्थी, शिक्षक, अभिभावकका साथै स्थानीयको सहभागिता रहेको छ ।

विधार्थीको अनुपात तहगत र बिषयगत शिक्षकको व्यवस्था गर्न सरकारसंग पटक पटक माग गर्दा समेत कुनै सुनुवाई नगरेपछि बाध्यभएर आन्दोलनमा उत्रिनु परेको विधार्थी मोर्चाका अध्यक्ष साहले बताएका ।

मधेसको शिक्षालाई सरकारले योजनाबद्ध तरिकाले तहसनहस गर्न खोजेको आरोप उनले लगाए ।

विधार्थी मोर्चाले मधेस प्रदेशमा विधार्थीको अनुपातमा शिक्षकको माग गर्दै चरणबद्ध आन्दोलनमा छ ।

आजपा मधेस प्रदेश कमिटीले समेत शिक्षकको माग गर्दै आम शैक्षिक हडतालका साथै आन्दोलनका बिभिन्न कार्यक्रम घोषणा गरेको छ ।

मधेसमा कार्तिक ५ गते देखी शैक्षिक आम हड्तालको घोषणा गरेको आजपाले त्यस अघि आन्दोलनका बिभिन्न कार्यक्रम गरिरहेको छ ।

शिक्षा ऐनको मापदण्डअनुसार तराई मधेसमा ५० विद्यार्थीमा १ शिक्षक हुनुपर्ने, पहाडमा ४० विद्यार्थी बारबर १ शिक्षक, हिमालमा ३५ विद्यार्थी बराबर १ शिक्षक हुनुपर्ने प्रावधान रहेको छ ।

यो मापदण्ड निर्धारण गर्दा नै विभेदकारी रुपमा निर्धारण गरिएको छ । तर पनि यो मापदण्ड अनुसार तराई मधेसमा शिक्षकको व्यवस्था शिक्षा मन्त्रालयले नगरेको आजपा केन्द्रीय सदस्य एवं प्रवक्ता डा. हेमप्रसाद साहले जनाएका छन ।

Leave a Comment