मल किन्न भारत गएका दुई नेपाली किसान धरौटीमा रिहा हुने

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, साउन २० — भारतबाट रासायनिक मल खरिद गरेर फर्किने क्रममा पक्राउ परेका सर्लाहीका दुई नेपाली किसानलाई भारतीय अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ।
सर्लाहीको बलरा नगरपालिका–५ निवासी सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंहलाई बुधबार भारतीय अदालतले धरौटीमा छाड्ने आदेश दिएको हो। यद्यपि आवश्यक कानुनी प्रक्रिया पूरा गर्नुपर्ने भएकाले उनीहरू बिहीबार मात्र जेलबाट मुक्त हुने परिवारले जनाएको छ।
सुरेशप्रसादका छोरा अविनाश सिंहका अनुसार अदालतको आदेशअनुसार भारतको आधार कार्ड भएका दुई जना व्यक्तिले साक्षी बसेपछि रिहाइ प्रक्रिया पूरा हुनेछ।
दुवै किसानलाई गत असार १७ गते भारतको बिहार राज्यस्थित सीतामढी जिल्लाको सोनबर्षा क्षेत्रबाट डिएपी र युरिया मल खरिद गरी नेपाल फर्किने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नियन्त्रणमा लिएको थियो। त्यसको भोलिपल्ट उनीहरूलाई न्यायिक हिरासतमा पठाइएको थियो।
उनीहरूको रिहाइको माग गर्दै दायर गरिएको निवेदनमाथि सुरुमा साउन १५ गते सुनुवाइ हुने तय भए पनि न्यायाधीश बिदामा रहेका कारण सुनुवाइ स्थगित भएको थियो। अन्ततः बुधबार सुनुवाइ गर्दै अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको हो।
किसानहरूको रिहाइको आदेशसँगै परिवारजनले राहत महसुस गरेका छन् भने बिहीबारसम्ममा उनीहरू घर फर्किने अपेक्षा गरिएको छ।

Leave a Comment