इजरायलको रसायन कारखानामा मिसाइल आक्रमण, घरभित्रै बस्न चेतावनी

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, १६ चैत २०८२ – अमेरिका, इजरायल र इरानबीच जारी तनावपूर्ण युद्ध ३१औँ दिनमा प्रवेश गरेको छ। यसैबीच इरानले दक्षिणी इजरायलस्थित एक पेट्रोकेमिकल प्लान्टमा मिसाइल आक्रमण गरेको छ।

आक्रमणपछि प्लान्टमा भीषण आगलागी भएको छ भने विषाक्त ग्यास चुहावटको जोखिम बढेको बताइएको छ। घटनामा एक जना घाइते भएका छन्।

यो आक्रमण बियरशेवा सहरबाट करिब ९ किलोमिटर टाढा रहेको नियोत होवाव औद्योगिक क्षेत्रमा भएको हो। हमलापछि स्थानीय अधिकारीहरूले बासिन्दाहरूलाई घरभित्रै बस्न र झ्याल ढोका बन्द राख्न सल्लाह दिएका छन्।

उक्त क्षेत्रमा खतरनाक रसायन भण्डारण गरिएकाले सावधानी अपनाउन भनिएको हो। यद्यपि अहिलेसम्म विषाक्त ग्यास बाहिर फैलिएको पुष्टि भने भएको छैन।

यसैबीच इरानका सैन्य प्रवक्ताले अमेरिका र इजरायलका अधिकारीहरूको निजी निवाससमेत अब आफ्नो निशानामा पर्ने चेतावनी दिएका छन्। यसलाई पश्चिम एसियामा तनाव अझ बढाउने संकेतका रूपमा हेरिएको छ।

अर्कोतर्फ, दक्षिण लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा पाँच जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

Leave a Comment