अविश्वास प्रस्तावपछि सभामुख मण्डलको कडा कदम– मधेसका ५ सांसद पदमुक्त

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

कात्तिक २७, २०८२ बिहिवार

मधेस प्रदेशसभाका पाँच जना सांसदलाई सभामुख रामचन्द्र मण्डलले पदमुक्त गरेका छन्।

सभामुख मण्डलमाथि अविश्वास प्रस्ताव दर्ता भएको केही घण्टामै उनले कारबाहीस्वरूप पाँच सांसदको सदस्यता खारेज गरेका हुन्। लगातार १० पटक प्रदेशसभा बैठकमा अनुपस्थित भएको भन्दै सभामुखले जनता समाजवादी पार्टी (जसपा)का चार र नागरिक उन्मुक्ति पार्टीकी एक सांसदलाई पदमुक्त गरेको सूचना सार्वजनिक गरेका हुन्।

सूचनामा भनिएको छ, “नेपालको संविधानको धारा १८० बमोजिम तथा प्रदेशसभा बैठकको अभिलेख अनुसार लगातार १० (दश) वटा बैठकमा अनुपस्थित रहेका तपशिलमा उल्लेखित माननीय सदस्यहरू मिति २०८२ साल कात्तिक २७ गतेदेखि प्रदेशसभा सदस्यबाट पदमुक्त भएका हुँदा निजहरूको स्थान रिक्त भएको बेहोरा प्रदेशसभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम १८५ बमोजिम सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।”

पदमुक्त हुने सांसदहरूमा जसपाका मनिष कुमार सुमन (सप्तरी), संजय कुमार यादव, सिंहासन सा कलवार र सारदा शंकर प्रसाद कलवार रहेका छन्। त्यसैगरी नागरिक उन्मुक्ति पार्टीकी सांसद उर्मिला देवी सिंहलाई पनि पदमुक्त गरिएको छ।

सभामुख मण्डलले अविश्वास प्रस्ताव दर्ता भएपछि लिएको यो कदमलाई राजनीतिक रूपमा निकै महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ।

Leave a comment