बाराको सुवर्ण गाउँपालिकाका मेयरद्वारा करारका कर्मचारीसंग लाखौ असुली

बिश्व खबर
बिश्व खबर पाठक संख्या : 383
पढ्न लाग्ने समय : 3 मिनेट

३ चैत्र ,बारा: बाराको सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेश प्रसाद यादवले कर्माचारी भर्नामा लाखौ कमिशन उठाएको आरोप लागेको छ
पालिका अध्यक्ष यादवले पुरानो अध्यक्षको पालामा नियुक्त गरिएको ७१ जना कर्मचारीहरु मध्ये ६१ जना कर्मचारीहरुलाई हटाई नयां कर्मचारी नियुक्त गर्दा लाखौं कमिशन लिएको एकजना कर्मचारीले आरोप लगाएका छन ।
अध्यक्ष यादवले कर्मचारी भर्नामा कमिशन लिएको बिषयमा छानवीन गर्न मागगर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन समेत परेपछि अनुसन्धान अगाडी बढाउँदा उनको करतुत बाहिर आएको हो।
उक्त पालिकाको शिक्षा, स्वास्थ्य, कृषि तथा बारुणयन्त्रतर्फका कर्मचारीहरुसंग आफ्ना आसेपासे खटाई २ लाखदेखी ५ लाख रुपैयाँ सम्म माग गरेको र नदिए पदबाट बर्खास्त गरिदिने धम्की अध्यक्ष यादवले दिएको निवेदनकर्ताले आरोप लगाएका छन।
अध्यक्ष यादवको धम्किपछी बढ्दो बेरोजगारीमा आफ्नो जागिर जोगाउन ती कर्मचारीहरुले जग्गा बेचेर, कर्जा लिएर र आफ्नो घरपालुवा जनावर बेचेर भएपनी कलैया स्थित अध्यक्ष यादवको व्यक्तिगत गढिमाई डेरी लगायतका खातामा रकम जम्मा गरेको तथ्य पनि खुलेको छ।
केहिदिन अगाडि मात्रै पालिका अध्यक्ष यादवले लाखौ रकम भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले छापा मारेको थियो।
छापामारीको क्रममा अध्यक्ष यादवलाई करिब ३ घण्टा नियन्त्रणमा लिएको थियो भने उनले प्रयोग गर्ने २ थान मोबाईल र त्यसमा प्रयोग हुने ४ थान सिमकार्ड अहिले पनि अख्तियारको नियन्त्रणमा रहेको छ।
बढ्दो भ्रष्टाचारका समाचारहरु बाहिर आएपछी अख्तियारको टोलिले फागुन ५ गते कवहीगोठ स्थित पालिकाको कार्यालयमा छापा हानेको थियो। अध्यक्ष यादवको कलैया-४ स्थित गढिमाई दूध डेरिको खातामा अप्रत्याशित रुपमा लाखौं रकम विभिन्न व्यक्तिबाट ट्रान्सफर भएको सुचनाको आधारमा त्यसको छानबिन गर्न छापामारी गरिएको अख्तियारले जनाएको छ।
अख्तियारले गाउंपालिकाका ३ जना कर्मचारीलाई समेत नियन्त्रणमा लिएर छोडेको छ। नगर प्रहरी हवल्दार रोज महम्मद, जवान बिरभुषण प्रसाद यादव तथा गाउंपालिका अध्यक्ष यादवको नातामा भन्जा पर्ने वन हेरालु पदमा कार्यरत सुरेश प्रसाद यादवलाई नियन्त्रणमा लिएर कागज गराई बोलाएको बखत आउने शर्तमा छोडेको छ। नियन्त्रणमा लिइएका तिनैजनाको खातामा पनि अप्रत्याशित रुपमा लाखौं रकम ट्रान्सफर भएर आएकोले त्यसबारे छानबिन गर्न उनिहरुलाई नियन्त्रणमा लिइएको जनाईएको छ। अहिले उनिहरुलाई बोलाएको बखत उपस्थित हुने शर्तमा छोडिएको छ।
पालिका प्रमुख यादवको यो भ्रष्टाचार काण्डमा त्यहांका निमित्त प्रमुख प्रशासकिय अधिकृत सुजित कुमार यादवको ठूलो सहयोग रहेको छ। उनकै सहयोगमा अध्यक्ष यादवले लाखौ रकम कुम्ल्याउने र एकआपसमा बाड्ने गरेको अख्तियारको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।
पालिका अध्यक्ष र अधिकृत यादवद्वयको ‘सेट्टिङ्ग’कै कारण संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयले पालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत यादवको पद खोसेपछि मन्त्रालयमा लेनदेनका अधारमा पुन: निमित प्रशासकिय अधिकृतमा नै थमौती भएका छन । अध्यक्ष यादवले आफुले कसैसँग रकम नलिएको दाबी गरेका छन । निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवले पनि कर्मचारी भर्नामा अनियमितता नगरेको दाबी गरेका छन ।

Leave a comment